

माओवादी अध्यक्ष प्रचण्ड जापान भ्रमणमा, कार्यबहाक अध्यक्ष बने नारायणकाजी

काठमाडौँ- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पाँचदिने भ्रमणका लागि जापान प्रस्थान गरेका छन्। राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्सको विमानबाट शुक्रबार राति जापान प्रस्थान गरेका हुन्। उनको साथमा स्वकीय सचिव रमेश मल्ल, छोरी गंगा दाहाल, सूर्य किरण शर्मा रहेका छन्।
प्रचण्ड नेपाली जनप्रगतिशील मञ्च जापानको निमन्त्रणामा त्यसतर्फ गएका हुन्। उनले शनिबार जापानको फुकुओकामा आयोजना हुने नेपाल फेस्टिभलको उद्घाटन गर्नेछन्। अगस्ट ६ मा हिरोसिमा घटना भएको ७५ वर्ष पूरा हुँदेै छ। अगस्ट ७ आइतबार अध्यक्ष प्रचण्डले हिरोसिमा भ्रमण गर्ने भ्रमण तालिका छ।
त्यस्तै, आइतबार नै नेपाली जनप्रगतिशील मञ्च जापानको आयोजनामा टोकियोमा हुने नेपाली समुदायहरूबीच ‘समृद्ध नेपालको आधार : आर्थिक क्रान्तिमा प्रवासी नेपालीको सरोकार’ अन्तक्रियामा प्रमुख अतिथिका रूपमा सहभागी बन्नेछन्।
जापानमा रहँदा जापानको सत्तारुढ दल लिबरल डेमोक्रेटिक पार्टीका नेताहरूसँग पनि प्रचण्डको भेटवार्ताको कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ। प्रचण्ड २५ साउनमा स्वदेश फर्किनेछन्। जापान भ्रमणका क्रममा प्रचण्डले पार्टीका नेता नारायणकाजी श्रेष्ठलाई कार्यवाहक अध्यक्षको जिम्मा दिएको पार्टी प्रवक्ता कृष्णबहादुर महराले जनाएका छन्।

