पूँजीगत खर्चको अवस्था राम्रो हुन सकेन : सुरेन्द्र पाण्डे


काठमाडाैं – नेकपा (एमाले) का उपाध्यक्ष सुरेन्द्र पाण्डेले नेपालको पूँजीगत खर्चको अवस्था राम्रो हुन नसकेको बताएका छन् ।

प्रोग्रेसिभ इन्जिनियर्स एसोसिएशन नेपालले आज आयोजना गरेको ‘पूँजीगत खर्च : राष्ट्रिय अर्थतन्त्रमा प्रभाव’ विषयमा कार्यक्रममा उनले विगतदेखि नै देशमा पूँजीगत खर्चको अवस्था राम्रो हुन नसकेको बताए ।

‘पूँजीगत खर्चको अवस्था कमजोर बन्दै गएको छ, आर्थिक वृद्धिका कारणले पनि अहिले असर गरिरहेको छ’, पूर्व अर्थमन्त्रीसमेत रहेका पाण्डेले भने, ‘वर्तमान सरकार चालु खर्च बढाउनेतर्फ लाग्नु हुँदैन ।’

पूर्व अर्थमन्त्री डा युवराज खतिवडाले व्यापार घाटा निरन्तर बढ्दै गएको उल्लेख गर्दै २५ प्रतिशत सरकारको र ७५ प्रतिशत लगानी निजी क्षेत्रको हुने अवस्था चित्त बुझ्दो नभएको बताए ।

अर्थतन्त्रका जानकार डा सूर्यमान आचार्यले अरू राष्ट्रको नक्कल गरेर बनाएको परियोजना सफल हुन नसक्ने टिप्पणी गरे । उनले नेपालका स्रोत र क्षमतामा अन्तर हुँदा नेपाल सोचेअनुरुप आर्थिक विकास हुन नसकेको धारणा राखे ।

राष्ट्रिय पुनः निर्माण प्राधिकरणका पूर्वप्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले परियोजना निर्माण गर्दा पर्याप्त तयारी नै नहुने गरेको र सबै बजेट असारमा गएर केन्द्रित हुँदा विकासमा निर्माणमा समस्या देखिएको बताए ।

एसोसिएशनका अध्यक्ष डा सुरज लामिछानेले नेपालमा पूँजीगत खर्चको स्थिति कमजोर बन्दै गएको भन्ने आम कुरा आएपछि वास्तविकता बाहिर ल्याउने उद्देश्यले कार्यक्रमको आयोजना गरेको जानकारी दिए ।

प्रतिक्रिया