

सुदूरपश्चिममा एक वर्षमा १ हजार ७९२ आपराधिक घटना, ३०१ जघन्य अपराध
काठमाडौँ- सुदूरपश्चिममा एक वर्षको अवधिमा १ हजार ७९२ आपराधिक घटना भएका छन्। सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयको तथ्याङ्क अनुसार गत आर्थिक वर्ष २०७८/०७९ मा प्रदेशका ९ जिल्लामा १ हजार ७९२ आपराधिक घटना दर्ता भएका छन्।
गत आर्थिक वर्षमा प्रदेशमा जघन्य अपराधका ३०१ र गम्भीर अपराधका २८४ घटना प्रहरीमा दर्ता भएका हुन्। सामान्य अपराधका ७८० र महिला बालबालिका तथा जेष्ठ नागरिक विरुद्धको अपराधका ४२७ मुद्दा दर्ता भएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ।
अपराधका ती उजुरीअनुसार सबैभन्दा बढी १८ वर्षदेखि ४० वर्ष उमेर समूहका व्यक्तिविरुद्ध उजुरी परेको छ। उक्त समूहका व्यक्तिहरूविरुद्ध ६३० उजुरी पर्दा बालबालिकाका विरुद्धका उजुरी २५७ वटा छन्। ४० देखि ६० वर्षमुनिका व्यक्तिविरुद्ध १२० मुद्दा दर्ता छन्।
सुदूरपश्चिम प्रहरीमा एक वर्षमा जघन्य अपराधका ३०१ घटना दर्ता भएका छन् । सोमध्ये १२० आपराधिक घटना बालबालिकाविरुद्धका छन्। १६४ घटनामा १८ देखि ४० वर्ष उमेर समूहका व्यक्तिलाई विपक्षी बनाइएको छ भने १९ जना ४० भन्दा बढी तर ६० वर्षमुनिका छन् । ४ मुद्दा ६० वर्षमाथिका व्यक्तिविरुद्ध छन्।
कर्तव्य ज्यानका ५८ घटना दर्ता भएका छन्। प्रदेशमा अपहरण तथा शरीर बन्धकका तीन मुद्दा दर्ता भएका छन् भने मानव बेचबिखन विरुद्धका ८ घटना दर्ता छन्। एक वर्षमा जबरजस्ती करणीका २३५ घटना दर्ता भएका छन्। जबरजस्ती करणीका घटनामा सबैभन्दा बढी १८ देखि ४० वर्ष उमेर समूहका व्यक्ति संलग्न छन्।
कर्तव्य ज्यानका ५८ घटना दर्ता भएका छन्। प्रदेशमा अपहरण तथा शरीर बन्धकका तीन मुद्दा दर्ता भएका छन् भने मानव बेचबिखन विरुद्धका ८ घटना दर्ता छन्।
जघन्य अपराधका घटनाहरूको पछाडि मदिरा सेवन, रिसिबी तथा आर्थिक लगायत कारण रहेको प्रहरीले जनाएको छ। प्रदेशमा एक वर्षको अवधिमा गम्भीर अपराधका २८४ घटना दर्ता भएका छन्। तीमध्ये ज्यान मार्ने उद्योगका ७३, आत्महत्या दुरुत्साहनका ३०, गर्भ संरक्षणविरुद्धको कसुरको एक घटना, डाँकाचोरीमा चार, चोरीमा १७६ घटना दर्ता भएका छन्। गम्भीर अपराधमा सबैभन्दा बढी १८ देखि ४० वर्ष उमेर समूहका छन्। सो समूहविरुद्धका घटना २०९ छन्।
महिला बालबालिका तथा जेष्ठ नागरिकविरुद्ध अपराध पनि बढ्दै गएको प्रहरीले जनाएको छ । एक वर्षमा महिला बालबालिका तथा जेष्ठ नागरिक विरुद्धको अपराधका ४२७ घटना दर्ता छन्।
एक वर्षमा प्रदेशमा जबरजस्ती करणीका २३५, जबरजस्ती करणी उद्योगका ८९, बहुविवाहका ७९, बाल विवाहका ५, अवैध गर्भपतनमा १, बोक्सी आरोपका १, जातीय छुवाछुतका चार, बालयौन दुराचारका १२ र अप्राकृतिक मैथुनको एक घटना दर्ता छन्।

