कुमारीआमा नेहारिका शुक्रबारदेखि पुनः आमरण अनसन बस्दै


काठमाडौं – महोत्तरी स्थायी घर भएकी कुमारीआमा निहारिका राजपुत शुक्रबारदेखि पुनः आमरण अनसन बस्ने भएकी छन् ।
गृहमन्त्रालयसँग गरेको ५ बुँदे सहमति कार्यान्वयन नभएको भन्दै उनले विहीबार राजधानीमा एक कार्यक्रममार्फत आफू पुनः आमरण अनसन सुरु गर्ने घोषणा गरेकी हुन् ।

गत जेठ २७ गते आमरण अनसन सुरु गरेपछि गृह मन्त्रालयले उनको माग पुरा गर्ने भन्दै पाँच बुँदै सहमति भए पछि असार २७ गते आमरण अनसन तोडेकी थिइन ।

न्यायको माग गर्दै बच्चासहित अनसनमा बसेकी राजपुतले गृहमन्त्री बालकृष्ण खाँणको हातबाट जुस खाएर अनसन तोडेपनि आजसम्म कुनै पनि माग कार्यान्वयन नभएको बताइन ।

‘मसँग सरकारले गरेका सहमति एउटा पनि कार्यान्वयन गरेको छैन्, मन्त्रालयले मलाई झुटो आश्वासन दिएर अनसन तोड्न लगायो, भोलिदेखि सिंहदरबार अगाडि बच्चा लिएर आमरण अनसन फेरी सुरु गर्दैछु । कि त कुमारीआमालाई गरि खान दिन पर्यो कि त सरकारले मारिदिओस्’, उनले विहीबार पत्रकार सम्मेलन गर्दै भनिन् ।

पीडक शिवराम श्रेष्ठ र निहारीकाकी छोराको डिएनए परीक्षणको कानुनी प्रक्रिया अघि बढाउन पहल गर्ने, अनसनकर्ताको आर्थिक सहायताका लागि गृहमन्त्रालयमार्फत पहल गर्ने, अनसनकर्ता र उनको छोराको सुरक्षा आवास व्यवस्थापनका लागि गृहमन्त्रालय र महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमार्फत पहल गर्ने, न्याय राज्यका सम्पुर्ण निकाय पीडितमैत्री बनाउन पहल गर्नेलगायतमा राजपुत र सरकारबीच सहमति भएको थियो ।

 

प्रतिक्रिया