हाँडसिञ्जामा १५ शय्याको अस्पताल


कनकासुन्दरी गाउँपालिकास्थित हाँडसिञ्जामा १५ शय्याको अस्पताल निर्माण हुने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको बजेटमा कर्णाली प्रदेशका ४१ स्थानीय तहमा ४२ वटा पाँच, १० र १५ शय्याका अस्पताल निर्माण कार्यसँगै यहाँको हाँडसिञ्जामा अस्पताल निर्माण हुने गाउँपालिका अध्यक्ष नरवीर रावतले जानकारी दिए ।

उनले भने, “अस्पताल निर्माण गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबाट रु १८ करोड ५० लाख विनियोजन गरेको छ । अस्पताल बनाउन २२ जना स्थानीयवासी तीन हजार ५०० वर्गमिटर जग्गा निःशुल्क उपलब्ध गराएका छन् ।” निःशुल्क जग्गा उपलब्ध गराउने स्थानीय बासिन्दालाई गाउँपालिकाले सम्मान गरेको गाउँपालिकाले जनाएको छ ।

नागरिकले निःशुल्क उपचार गर्न पाउने यहाँका आठवटै स्थानीय तहकै ठूलो अस्पताल बन्ने भएपछि यहाँका स्थानीयवासी खुशी भएको गाउँपालिका उपाध्यक्ष उर्मिला भण्डारीले बताइन् ।

सो अस्पताल निर्माण भएर सञ्चालनमा आएपछि नागरिकले सहजरुपमा निःशुल्क उपचार पाउनेछन् । गत मङ्सिर २३ गते तिला–३ कुडारीमा १० शय्याको अस्पताल बनाउनका स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री नवराज रावतले शिलान्यास गर्नुभएको थियो । यसैगरी कनकासुन्दरी गाउँपालिकाको हाँडसिञ्जा स्वास्थ्य चौकीमा प्रयोगशाला सञ्चालन गरिएको छ ।

यहाँका दुर्गम ठाउँमा स्वास्थ्य परीक्षण प्रयोगशाला सञ्चालन नहुँदा दुई दिन पैदलयात्रा गरी सदरमुकाम खलङ्गास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा आएर परीक्षण गर्नुपर्ने बाध्यता थियो । ग्रामीण भेगका स्वास्थ्यचौकीका ल्याब सञ्चालनमा आएपछि दिसापिसाव, खकारलगायत अन्य परीक्षण गर्न सहज भएको हाटसिञ्जा स्वास्थ्यचौकीका प्रमुख वीरेन्द्रप्रसाद उपाध्यायले जानकारी दिए ।

प्रतिक्रिया