अल्पसङ्ख्यक बोटेको पहिचान लोप हुन लागेकामा चिन्ता
उदयपुर – जिल्लामा बसोबास गर्दै आएका विभिन्न जनजाति र आदिवासीमध्येका बोटे समुदायको पहिचान लोप हुने अवस्थामा पुगेको छ। जिल्लामा अल्पसङ्ख्याकको रुपमा रहेको बोटे राज्यमा मात्र नभइ जिल्लाभित्र पनि पिछडिएका कारण उक्त जातिको पहिचान लोप अवस्थामा पुगेपछि चिन्ता व्यक्त गर्न थालिएको हो।
जिल्लामा बसोबास गर्दै आएका झण्डै १७ जनजाति तथा आदिबासीमध्ये अहिले हायु र बोटेजस्ता जनजाति जिल्लामा अल्पसङ्ख्यकको रुपमा रहँदै आएका छन्। हाल जिल्लाको त्रियुगा नगरपालिका–१२ को पुरानो गाईघाट र नगरकै वडा नं २ को मोथ्याई क्षेत्रमा मात्र बसोबास गर्दै आएका बोटेको अहिले उदयपुरमा झण्डै तीस घरपरिवार मात्र रहेकोे बोटे समाजका जिल्ला अध्यक्ष नन्दमान बोटे बताउँछन्।
उनी भन्छन्,’आफूहरुको पुर्खा चितवन र बाग्मती किनार क्षेत्रमा पनि अल्पसङ्ख्यकका रुपमा रहँदै आएको र अन्दाजी दुईसय वर्षअघि केही पुर्खा उदयपुर क्षेत्रमा प्रवेश गरेर नदीमा माछा मार्ने तथा डुङ्गा चलाउने कार्य गर्दै आएको र उनै पुर्खाका हामी अल्पसङ्ख्यक शाखा सन्तानको रुपमा अहिले यहाँ बस्दै आएका छौँ। ‘नन्दमानका अनुसार बोटेहरु अहिले चितवनको माडी क्षेत्र, रौतहटको बाग्मती किनार र सुनकोशीको केही क्षेत्रका साथै उदयपुरमा पनि रहँदै आएका छन्। बोटे समाजका ७५ वर्षीय पाका सदस्य तथा बोटेजातिका जानकार चञ्चलालका अनुसार आफ्ना पुर्खा माझी थिए।
ललहरि र निलहरि दुईप्रकारका माझीमध्ये आफूहरु भने ललहरितर्फका सन्तान भएको कुरा चन्चलाल बताउँछन्। उनी भन्छन्,’बोटे विभिन्न गोत्रमा विभाजित भएका कारण सोही अनुसार विवाहवारी चल्ने गरेको छ।’ सेतो जिब्रे, कालाजिब्रे, ध्वाँसे, धुरी ध्वाँसे, हातीखेदे, सुनबोटे र कासबोटे गोत्रका बोटे छन् भने यहाँ रहँदै आएका बोटेहरुमध्ये अहिले प्रायः सेतो जिब्रे र कास बोटे गोत्रका रहेको जानकार चञ्चलाल बताउँछन्।
अहिले बोटे जातिका एक युवक नेपाली सेना र अर्का नेपाल प्रहरीमा जागिरे भए पनि बोटेजाति अहिले जिल्लाका हरेक क्षेत्रमा अल्पसङ्ख्यकको रुपमा रहेको र हरेक क्षेत्रमा पछि पर्दै गएका कारण आफूहरुको पहिचान नै लोप हुने अवस्था आएको अर्का ७३ वर्षीय नरमान बोटे गुनासो गर्छन्। एक महिला सुमित्रा बोटेले स्नातक पास गरेका र अन्य दुई युवाले मात्र प्रवेशिकासम्मको अध्ययन गरेका छन् भने अधिकांश बोटे अनपढ र अशिक्षित अवस्थामा रहेको नरमान बोटे बताउँछन्।
अहिले जिल्लामा स्थानीय तहको सरकारमासमेत बोटेजातीलाई समावेश नगराइएको र आफूहरुको संस्कृति संरक्षणमा पनि कसैले चासो नदिएकाले आर्थिक, सामाजिक, शैक्षिक तथा राजनीतिक क्षेत्रबाटसमेत जिल्लामा सबैभन्दा पछाडि पर्दै जानुपरेका कारण पहिचान नै लोप हुने अवस्था आएको भन्दै अधिकांश बोटे चिन्तित बन्न थालेका हुन्।
थानीय तहको कुनै पनि समितिमा समेत आफूहरुलाई समावेश नगराइएको र जिल्लाका राजनीतिक दलहरुले समेत निर्वाचनको बेला भोट बैंकको रुपमा मात्र प्रयोग गर्ने तर अरुबेला वास्ता नगर्ने गरेका कारण स्थानीय तहमा समेत आफूहरुको उपस्थिति शून्य नै बन्न पुगेको बोटे समाजका अर्का अगुवा दुर्गा बोटेको गुनासो छ।
पुख्यौली पेसा नदी किनारमा डुङ्गा चलाउने भए पनि बदलिँदो परिवेशले डुङ्गा चलाउने पेसा विस्थापन गराएकाले अहिले नदीकिनार क्षेत्रमा बसोबास गर्दै माछा मार्ने काम मत्र गर्दै आएको उनीहरुको गुनासो छ। प्रत्येक वर्षको असार १ गते कूलदेबता ‘राजाजी’को पूजा आरधाना गर्ने बोटेजाति गरिबी, अशिक्षा तथा बेरोजगारीका कारण अहिले अन्यत्रै पलायन हुनपर्ने अवस्थामा पुगेका छन्।
कम्तीमा स्थानीय तहको सरकारले आफूहरुको विकासका लागि रोजगारी, भाषा र संस्कृतिको संरक्षण तथा शिक्षामा सहयोग गरिदिए मात्र पनि संस्कृति र पहिचानको संरक्षण हुने बोटे अगुवाको धारणा छ। बोटे अगुवा चन्चलाल भन्छन्,’जिल्लामा धेरै राजनीतिक दल र तिनका भातृ सङ्गठन छन् तर बोटे जातिका एउटा पनि व्यक्ति ती दलका कार्यकर्ता तथा नेता बन्न सकेका छैनन् र राजनीतिक दलहरुले पनि बोटेलाई पार्टीमा कुनै जिम्मेवारी दिएर अगाडि बढाएका छैनन्, यस्तो अवस्थामा आफूहरुको राजनीतिक विकाससमेत हुननसकेकाले दिन दिनै पछ्यौटे हुँदै गएका छौँ।’
जिल्लाभित्र स्थानीय तहको निर्वाचनमासमेत बोटेलाई राजनीतिक दलहरुले वडाको सदस्यमा समेत उम्मेदवार नबनाउनका साथै समावेशी कोटामा समेत नराखेका कारण स्थानीय जनप्रतिनिधिको रुपमा पनि उपस्थिति हुन नसकिएको र राजनीतिक भविश्य पनि अन्योल रहेको उनीहरुको गुनासो छ।
जिल्लाको त्रियुगा नगपालिका क्षेत्रको वडा नं. १२ र वडा नं. २ मा गरेर अहिले बोटेहरुको सङ्ख्या ३० घरपरिवार अर्थात २२० को हाराहारीमा बोटेको सङ्ख्या रहेको बोटे अगुवा चन्चलाल बताउँछन्।