ई–पेन्सन प्रणाली लागू गर्न शिक्षक विवरण माग्दै राष्ट्रिय किताबखाना


काठमाडौं-  संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयअन्तर्गतको राष्ट्रिय किताबखाना (शिक्षक) ले ई–पेन्सन प्रणाली कार्यान्वयनका लागि देशभरका स्थायी शिक्षकहरूको अभिलेख अद्यावधिक गर्न आवश्यक कागजात पेस गर्न निर्देशन दिएको छ ।

छाउनी, काठमाडौंस्थित राष्ट्रिय किताबखानाले २०८३ वैशाख ३० गते जारी गरेको सूचनाअनुसार २०२३/०४/०१ देखि २०२५ असार मसान्तसम्म जन्ममिति भएका स्थायी शिक्षकहरूको अभिलेख अद्यावधिक गरिने भएको हो ।

किताबखानाले सम्बन्धित शिक्षकहरूलाई आवश्यक कागजातको प्रतिलिपि स्वयम् प्रमाणित गरी २०८३ जेठ ३० गतेभित्र सम्बन्धित शिक्षा विकास तथा समन्वय एकाइमा बुझाउन आग्रह गरेको छ । त्यसपछि ती एकाइहरूले नामनामेसीसहितको विवरण २०८३ असार १५ गतेभित्र अनिवार्य रूपमा राष्ट्रिय किताबखानामा पठाइसक्नुपर्नेछ ।

माग गरिएका कागजातमा माथिल्लो तहमा स्थायी नियुक्ति पत्र, सरुवा तथा रमाना पत्र, बढुवा पत्र, बिदा स्वीकृतिका कागजात, विभागीय सजायसम्बन्धी पत्र तथा जन्ममिति फरक भएमा एसईई (एसएलसी) को मूल प्रमाणपत्र र नागरिकता प्रमाणपत्रसमेत समावेश छन् ।

कामु उपमहानिर्देशक गोविन्द प्रसाद अर्यालद्वारा हस्ताक्षरित उक्त पत्रको बोधार्थ शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई समेत दिइएको छ ।

किताबखानाले ई–पेन्सन प्रणालीलाई व्यवस्थित, डिजिटल र अभिलेखमैत्री बनाउने उद्देश्यले यो प्रक्रिया अघि बढाइएको जनाएको छ ।

प्रतिक्रिया