१०० शय्याको अस्पताल बनाउन कर्जा स्वीकृत
काठमाडौं – नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडको अगुवाइ तथा नबिल बैंक लिमिटेडको सहभागितामा लुम्बिनी प्रदेशको सिद्धार्थनगरमा १०० शय्याको ‘एडभान्स इन्टरनेशनल मल्टी स्पेसियालिटी अस्पताल’ निर्माण हुने भएको छ । सो अस्पताल निर्माण तथा सञ्चालनका लागि रु दुई अर्ब ५४ करोड बराबरको कर्जा स्वीकृत गरिएको छ ।
सो अस्पताल निर्माण गर्न नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडले रु एक अर्ब ५४ करोड तथा नबिल बैंक लिमिटेड रु एक अर्ब लगनी गर्ने भएको छ । बिहीबार त्यससम्बन्धी सम्झौता भएको भए पनि बैंकले आज एक विज्ञप्तिमार्फत जानकारी दिएको हो ।
सम्झौतामा नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडकाको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रामकृष्ण खतिवडा, नायब महाप्रबन्धक सूर्यबहादुर तामाङ, नायब महाप्रबन्धक विनयनाथ न्यौपाने र नबिल बैंक लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुङ्गाना, वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत सुजितकुमार शाक्य, नायब प्रमुख कार्यकारी अधिकृत भूपेन्द्र पाण्डेलगायतको उपस्थिति थियो ।
कार्यक्रममा अस्पतालका अध्यक्ष कमल भण्डारीले परियोजनामा लगानीको लागि सहवित्तीयकरण सम्झौता सम्पन्न हुँदा आफू उत्साहित भएको र परियोजना निर्माण कार्य समयमै सम्पन्न गरी व्यावसायिक सञ्चालन सुरु गर्ने प्रतिबद्धता व्यक्त गरे । उक्त अस्पतालले लुम्बिनी प्रदेशको स्वास्थ्य सेवामा विशिष्टिकृत योगदान पुर्याउने अपेक्षा गरिएको छ ।