अवकास पाए पनि जिम्मेवारी नछाडेको भन्दै प्रधानाध्यापकविरुद्ध उजुरी


विराटनगर – अवकास पाए पनि जिम्मेवारी नछाडेको भन्दै सुनसरीस्थित बेलाल पब्लिक स्कूल (मदरसा हजरत बेलाल)का प्रधानाध्यापकविरुद्ध उजुरी परेकाे छ । सुनसरीको दुहबी-९ को बेलाल पब्लिक स्कूलका प्रधानाध्यापकले अवकास भएको १६ महिना पछिसम्म  पनि जिम्मेवारी नछाडेकाे भन्दै उजुरी गरिएकाे हाे ।

प्रधानाध्यापक जमिल अख्तरले २०७८ साल वैशाख महिनामै उमेर हदका कारण अवकास प्राप्त गरे पनि राजनीतिक आडका कारण अन्य शिक्षकलाई जिम्मेवारी हस्तान्तरण नगरी विद्यालय व्यवस्थापनको कामदेखि प्रशासनिक काममा हस्तक्षेप गरिरहेको भन्दै उनीविरुद्ध उजुरी परेको छ । विद्यालयका अभिभावकहरुको नाममा दुहबी नगरपालिकामा पेस भएको उजुरीमा प्रधानाध्यापक अख्तरले अवकास भइसकेको भए पनि विद्यालय व्यवस्थापन समितिको अध्यक्ष चयनमा हस्तक्षेप गरेको उल्लेख छ ।

विद्यालय व्यवस्थापन समितिको भेला पनि मापदण्ड विपरीत गरेको र विद्यालय व्यवस्थापन समितिको अध्यक्ष गौण राखी विद्यालय अभिभावक हुन निजको परिवारको सदस्य उक्त विद्यालयमा अध्ययनरत रहनुपर्ने कानूनी व्यवस्थाको पनि उल्लंघन गरिएको निवेदनमा उल्लेख छ ।

अभिभावक तथा सोही विद्यालयका जग्गा दाता मो. एजुबले पूर्व विद्यालय व्यवस्थापन समितिका पदाधिकारीले अवकास प्राप्त प्रधानाध्यापकबाट आर्थिक कारोबार गर्नु गैर कानुनी छ/छैन भन्ने प्रश्न उठेको बताए । यता, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष आलम हुसेनले सोही क्षमताको अन्य व्यक्ति नपाइएको कारण अवकाश पाए पनि उनैलाई प्रधानाध्यापक बनाइएको बताए ।

‘स्कुलसम्म ज्ञान भएको व्यक्ति, लामो समयदेखि योगदान गरेको भएको व्यक्ति भएको कारण उहाँलाई राखिएको हो, यसमा आपत्ति हुनुपर्ने विषय होइन,’ उनले भने । व्यवस्थापन समिति गठन अवैधानिक भएको भन्दै उक्त कार्य समिति विघटन गर्न माग गरिएको स्थानीय अभिभावक भोला मियाँले बताए । ८ कक्षासम्म पठनपाठन हुने उक्त मदरसामा लगभग ३ सय विद्यार्थी अध्ययनरत रहेको व्यवस्थापन समितिका अध्यक्ष हुसेनले बताए ।

प्रतिक्रिया