

परराष्ट्रमन्त्री ज्ञवालीको भारत भ्रमणः नयाँ दिल्ली ओलीको समर्थनमा, निर्वाचनमा जाने उचित निर्णय

काठमाडाैं – परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली भारतको तीन दिने भ्रमण पूरा गरी आज दिउँसो नेपाल फर्किदैछन् । दुई देशको सयुक्त आयोगको बैठक पनि शुक्रबार नै बस्यो । दुवै देशका परराष्ट्रमन्त्री, सचिवलगायतका उच्च अधिकारी बसेर ऊर्जा, सीमा व्यवस्थापन, कनेक्टिभिटीलगायतका विषयमा छलफल गरेका थिए । भारतमा उत्पादित कोरोना भाइरसको भ्याक्सिन नेपाल ल्याउनेबारे पनि छलफल भएको थियो ।
नेपाल भारतबीचको संयुक्त विज्ञप्तिमा कनेक्टिभिटी, आर्थिक, व्यापार, ऊर्जा, तेल र ग्याँस, जलस्रोत, राजनीतिक र सुरक्षाको मामलामा कुराकानी भएको उल्लेख छ । पर्यटन, संस्ृकति, शिक्षा र क्षमता अभिवृद्धिमा पनि कुराकानी भएको छ । उच्चस्तरिय भेटघाटका क्रममा भारतले नेपालमा चुनाव चाहेको सन्देश दिएको छ । उनको भ्रमणमा सीमा विवादबारे छलफल हुने अपेक्षा गरिए पनि भारतीय पक्षसँग त्यस किसिमको छलफल हुन सकेन ।
परराष्ट्र मन्त्री ज्ञवालीले त्यहाँ गरेका विभिन्न उच्चस्तरीय भेटघाट तथा बैठकहरुमा नेपालमा देखिएको राजनीतिक संक्रमणको बारेमा चर्चा गर्दा भारतले आफू प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारकै पक्षमा रहेको स्पष्ट पारेको स्रोतहरूले दावी गरेका छन् ।
स्रोतका अनुसार ओली नेतृत्वको सरकारले जे निर्णय गरेको छ, त्यसको पक्षमा रहेको सन्देश भारतले मन्त्री ज्ञवालीलाई दिएको छ । संसद विघटनको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन छ । भारतले पनि संसद विघटनका बारेमा सर्वोच्च अदालतबाटै उचित फैसला हुने भन्दै तत्कालका लागि निर्वाचनमा जाने एजेण्डाकै समर्थन जनाएको स्रोत बताउँछ ।
दुबै पक्षले कनेक्टिभिटी, अर्थव्यवस्था र व्यापार, विद्युत, तेल र ग्यास, जलस्रोत, राजनीतिक र सुरक्षा मुद्दाहरू, सीमा व्यवस्थापन, विकास साझेदारी, पर्यटन, सँस्कृति, शिक्षा र क्षमता अभिवृद्धि लगायतका सहयोगका विभिन्न क्षेत्रहरूमा छलफल गरेका छन् । तर कालापानी, लिपुलेक लिम्पियाधुरा लगायत सीमा विवादको विषयमा परराष्ट्रमन्त्रीको भारत भ्रमणका क्रममा चर्चा नै भएन ।
मन्त्री ज्ञवालीको भ्रमणले नेपाल–भारतको बीचमा रहेको तनाव केही कम भएको छ र वार्ताका ढोकाहरु खुलेको विश्लेषण पनि भइरहेको छ । तर, कोरोना भाइरसविरुद्धको भ्याक्सिन ल्याउनेबारे महत्वपूर्ण उपलब्धि भएको छ । भारतले नेपाललाई प्राथमिकतामा राखेर भ्याक्सिन दिने प्रतिवद्धता जनाएको छ ।

