नेकपा ओली समूहको कार्यकर्ता भेला, प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने


काठमाडौं – सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहले काठमाडौंमा अगुवा कार्यकर्ता भेला आयोजना गरेको छ । दिउँसो १ बजे तिनकुनेस्थित रोयल बैंक्वेटमा हुने प्रदेश १ का अगुवा कार्यकर्ता भेलालाई प्रधानमन्त्री केपी शर्मा ओलीले दिउँसो २ बजे सम्बोधन गर्ने कार्यक्रम रहेको उनका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन् ।

उनका अनुसार दाहाल–नेपाल समूहले कार्यकर्तातहमा पुर्‍याएको भ्रम चिर्ने रणनीति एवं चुनाव केन्द्रित प्रशिक्षण दिन लागिएको जनाइएको छ । पुस ५ मा प्रतिनिधिसभा विघटन भएपछि विभाजित बनेको नेकपाको दुबै समूह एकअर्काविरूद्ध उत्रिएका छन् ।

प्रतिनिधिसभा विघटनकै मुद्दा सर्वोच्च अदालतमा समेत पुगेको छ । अदालते यस मुद्दाको छिनोफानो नगर्दासम्म वैशाखमा नै चुनाव वा प्रतिनिधिसभा पुनर्स्थापना भन्ने विषय अन्योलमा छ । चुनाव अन्योलमा रहिरहँदा प्रधानमन्त्री ओलीले दैनिक जसोका सम्बोधनमा समयमै निर्वाचन हुने बताउन छाडेका छैनन् भने त्यसलाई चुनौती दिने गरी दाहाल–नेपाल समूह आन्दोलनमा छन् ।

प्रतिक्रिया