

उपेन्द्रले गरेको कारबाहको निर्णय खारेज गर्दै बाबुरामले भने : पार्टी पुनर्गठनमा लागौँ

काठमाडौँ- डा. बाबुराम भट्टराईले जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादव पक्षले गरेको कारबाहीको निर्णयलाई खारेज गरेका छन्।
शुक्रबार राति प्रेस वक्तव्य जारी गर्दै उनले यादव पक्षले स्वेच्छाचारी शैलीमा अवैधानिक, अराजनीतिक र अनैतिक रूपमा आफूसहितका केन्द्रीय कार्यकारिणी सदस्यहरूलाई पदमुक्त गरेको घोषणा गरेको बताएका छन्।
‘हामी यस कारबाहीको घोर भत्सर्ना गर्दै कारबाहीको निर्णय खारेज गर्दछौँ। यो परिस्थितिमा अब हाम्राे सामु पार्टी पुनर्गठनको विकल्प रहेन। तसर्थ, पार्टी रूपान्तरणका लागि अनवरत रूपमा लागिरहनु भएका केन्द्रीय सदस्यहरूलगायत तहगत रूपमा सबै तहका नेताकार्यकर्ताहरूलाई पार्टी पुनर्गठनका लागि हार्दिक अपिल गर्दछौँ,’उनले भनेका छन्।
यादव पक्षको वीरगञ्जमा बसेको केन्द्रीय समिति बैठकले भट्टराईलाई हटाएर संघीय परिषद् अध्यक्षमा अशोक राईलाई चयन गरेको थियो । बैठकले केन्द्रीय कार्यकारिणी सदस्यहरू हिसिला यमी, गंगानारायण श्रेष्ठ, प्रशान्त सिंह, महेन्द्र राय यादव, भक्तबहादुर शाह, दानबहादुर चौधरी, रमेश यादव र दुर्गा सोबलाई पनि पदमुक्त गरेको थियो।
प्रेस वक्तव्य

