आलोचनापछि ‘बा–आमा’ जोडिएका कार्यक्रम हटाउन गण्डकीका मुख्यमन्त्रीको निर्देशन


पोखरा- गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले विवादित चारवटा कार्यक्रम आगामी आर्थिक वर्षको बजेटबाट हटाउन निर्देशन दिएका छन् । एक करोड ९० लाख रुपैयाँका चारवटा कार्यक्रम हटाउन मुख्यमन्त्रीले निर्देशन दिएका हुन् ।

मुख्यमन्त्री पोखरेलले ५० लाख रुपैयाँ र शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्री मेखलाल श्रेष्ठले एक करोड रुपैयाँ गरेर डेढ करोड रुपैयाँ सरकारी ढुकुटीबाट बुवाआमाको नामको कोषमा छुट्याएपछि चौतर्फी आलोचना भइरहेको छ । कांग्रेसकै नेताको बुवा र श्रीमानको नाममा पनि बजेट विनियोजन गरिएको छ ।

यसमा ध्यानाकर्षण भएको जनाउँदै मुख्यमन्त्री पोखरेलले प्रदेशको प्राथमिकता क्षेत्रमा खर्चन अर्थ मन्त्रालयलाई निर्देशन दिएको मुख्यमन्त्री पोखरेलका प्रेस संयोजक भरत कोइरालाले जानकारी दिए । ‘आमनागरिकको भावनालाई उच्च कदर गर्दै यो र यस्ता कार्यक्रममा विनियोजित स्रोतलाई प्रदेशको प्राथमिकताका क्षेत्रमा खर्चिने व्यवस्था मिलाउन माननीय मुख्यमन्त्री ज्यूले सम्बन्धित मन्त्रालयलाई निर्देशन दिइसक्नुभएको व्यहोरा जानकारी गराइन्छ,’ कोइरालाले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

गोवर्धन शर्मा स्मृति कोष, श्री पुननारायण धनकुमारी श्रेष्ठ परोपकारी ट्रष्ट भवन निर्माण, पुननारायण धनकुमारी श्रेष्ठ परोपकारी ट्रष्ट, डिल्लीराम लामिछाने स्मृति प्रतिष्ठान भवन निर्माण, अमृत जोशी स्मृति पार्कलगायत शीर्षकमा एक करोड ९० लाख रुपैयाँ गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष २०७९र८० को वार्षिक कार्यक्रममा समावेश गरेका छ । गोवर्धन शर्मा स्मृति कोष मुख्यमन्त्री पोखरेलका बुवाको नामको कोष हो । यो कोषलाई प्रदेश सरकारको आगामी आर्थिक वर्षको बजेटबाट ५० लाख रुपैयाँ छुट्याइएको छ ।

पुननारायण धनकुमारी ट्रष्ट शिक्षामन्त्री श्रेष्ठका बुवाआमाको नामको हो । यसलाई एक करोड रुपैयाँ छुट्याइएको छ ।

प्रतिक्रिया