

बुढीगंगा मतदानः त्रिशक्ति माविमा तनाब, प्रहरीले गर्यो हवाई फायर

काठमाडौं – बाजुराको बुढीगंगा नगरपालिकाको स्थानीय तह निर्वाचन तनाव सिर्जना भएको छ।
बिहीबार बुढीगंगामा मतदान जारी छ। त्यसक्रममा बिहीबार दिउँसो ११ः५५ बजे एउटा मतदान केन्द्रमा तनाव सिर्जना भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायब उपरीक्षक सूर्य थापाले जानकारी दिए।
वडा नम्बर ९ स्थित त्रिशक्ति माध्यमिक विद्यालयमा रहेको मतदान केन्द्रमा तनाव सिर्जना भएको हो।
प्रहरीले भीडलाई नियन्त्रणमा लिन केही हवाई फायर पनि गरेको छ। यद्यपि कति राउन्ड हवाई फायर गरेको भन्ने खुलिसकेको छैन।
‘मतदान केन्द्रमा मत हाल्न खोज्ने क्रममा दुई पक्षबीच सुरूमा भनाभन भयो। त्यसपछि हानाहान भयो,’ थापाले भने,‘बाहिर लाइनमा बसेका मान्छेहरू भित्र छिर्न खोजे त्यही बेलामा झडप भयो। प्रहरीले हवाई फायर गर्यो।’ भीड अहिले नियन्त्रणमा आउने क्रममा रहेको उनले बताए।
कांग्रेसबाट रंगबहादुर खाती र एमालेबाट रामबहादुर बानियाँ मेयर पदका लागि उम्मेदवार छन्। उपमेयरमा कांग्रेसबाट रिता शाही शाह र एमालेबाट मायाकुमारी खड्का कुँवर उम्मेदवार छन्।
मतदानस्थलमा नेपाल प्रहरी र सशस्त्र प्रहरी खटाइएका छन्। मतदानका लागि १० मतदानस्थल र १९ केन्द्र छन्। मतदान सकिएपछि मतपेटिका संकलन गर्ने र सकेसम्म आजैदेखि मतगणना सुरू गर्ने तयारी छ।

