

स्थानीय तह निर्वाचन: बूढीगंगामा आज मतदान, सुरक्षा व्यवस्था कडा

बाजुरा- वैशाख ३० मा देशका ७५२ स्थानीय निर्वाचन क्षेत्रमा निर्वाचन भयो। निर्वाचनमा अवरोध भएका ठाउँमा केही दिनपछि नै मतदान सम्पन्न गरियो। सबै स्थानीय तहमा जनप्रतिनिधि आइसकेका छन्। तर बाजुराको बुढीगंगा नगरपालिकामा भने आज मतदान हुँदैछ।
वैशाख ३० मा सोही ठाउँमा निर्वाचन भएको थियो। तर राजनीतिक दलको आन्तरिक मनमुटावका कारण पुनः निर्वाचन गर्नुपरेको हो। मतदानका दिन नेपाली कांग्रेस र नेकपा एमालेका कार्यकर्ताबीच मतदानस्थलमा झडप, उम्मेदवारमाथि कुटपिट र मतदाता लखेटिने घटना भएपछि नगरपालिकामा मतगणना स्थगित भएको थियो।
कांग्रेसले पुनः मतदानको माग गरेको थियो भने एमालेले गणनाको माग गरेको थियो। नगरपालिकाभित्रका विभिन्न मतदान केन्द्रमा तनावको अवस्था सिर्जना हुँदा मतगणना प्रभावित बनेको थियो।
तनावका बीच निर्वाचन अधिकृत कृष्ण सापकोटाले राजीनामा दिएका थिए। स्थानीय तह निर्वाचनको १४ दिनपछि आयोगले बिहीबार बुढीगंगामा वैशाख ३० गते भएको मतदान रद्द गर्ने र पुनः मतदान गराउने निर्णय गरेको हो।
सुरक्षा व्यवस्था कडा
बुढीगंगा नगरपालिकामा १० वटा बुथमा १९ वटा मतदान केन्द्रको व्यवस्था गरिएको निर्वाचन कार्यलयले जनाएको छ । निर्वाचनलाई मर्यादित रुपमा सम्पन्न गर्न प्रारम्भिक व्यवस्थापकीय कार्य सम्पन्न भएको मुख्य निर्वाचन अधिकृत माधवप्रसाद घिमिरेले जानकारी दिए घिमिरेका अनुसार पुनः हुने निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न गर्न आवश्यक सुरक्षाकर्मी तैनाथ गरिएको छ।

