महाकालीमा बेपत्ता सचिनलाई खोज्न सुरक्षाकर्मीको संख्या बढाइयो


काठमाडौँ– दार्चुलामा तुइनबाट महाकाली नदीमा खसेर बेपत्ता भएका १८ वर्षीय सचिन बुढाथोकीको खोजीकार्य तीव्र बनाउन गृहमन्त्री वालकृष्ण खाणले सुरक्षा निकाय प्रमुखहरूलाई निर्देशन दिएका छन्। बुधबार दार्चुला जिल्लास्थित ब्यास गाउँपालिका- २ मा तुइनबाट भारत तर्फबाट नेपालतर्फ आउँदै गर्दा बेपत्ता भएका बुढाथोकीको खाेजीकार्य तीव्र बनाउन मन्त्री खाणले निर्देशन दिएका हुन्।

दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्याय, सशस्त्र प्रहरी बल सुदूरपश्चिम प्रदेश प्रमुख सशस्त्र प्रहरीका नायव महानिरीक्षक (डीआइजी) दुर्गाप्रसाद भट्टराई र नेपाल प्रहरीका सुदूरपश्चिम प्रदेश प्रमुख नायव महानिरीक्षक (डीआइजी) मोहन आचार्यलाई टेलिफोन गरी बेपत्ता बुढाथोकीको खोजीकार्य तीव्र पार्न निर्देशन दिएका हुन्।

सशस्त्र प्रहरी नायव महानिरीक्षक भट्टराईले सशस्त्र र नेपाल प्रहरी मिलेर रातिसम्म खोज्दा पनि फेला पार्न नसकेको बताए। खोजी कार्य तीव्र बनाउन गृहमन्त्रीले चासो व्यक्त गर्दै निर्देशन दिएको बताउँदै बिहीबार थप फौज पठाएर खोजी कार्य तीव्र बनाइने उनले जाानकारी दिए।बुढाथोकी दिउँसो साढे तीन बजे गह्रौं भारीसहित दुम्लिङनजिक भारतबाट नेपालतर्फ आउँदै गर्दा तुइन चुडिएर बेपत्ता भएकाे जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ।

प्रतिक्रिया