नेपाल शक्ति राष्ट्रको क्रिडास्थल बन्न थालिसक्यो : कमल थापा


काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालका अध्यक्ष कमल थापाले नेपाल विदेशी शक्ति राष्ट्रको क्रिडास्थल बन्न थालेको बताएका छन्।

काठमाडौंमा सोमबार राप्रपा नेपालका युवाहरुलाई सम्बोधन गर्दै अध्यक्ष थापाले लोकतन्त्र स्थापनाको १६ वर्षमा देशको अवस्था फर्केर पुरानै अवस्थामा आइपुगेको बताए।

उनले पछिल्लो समय देशको राजनीति केही राजनीतिक दलका नेताहरुको कब्जामा रहेको बताए। अध्यक्ष थापाले देशलाई आफ्नो मुठीमा लिएका केही नेताहरुले सर्वसत्तावाद लाद्न थालेको आरोप लगाए।

दलका नेताहरुको कारण राष्ट्रियतासमेत खतरामा परेको बताए। कमजोर बनिरहेको राष्ट्रियतामा विदेशी शक्ति केन्द्रको चलखेल र प्रभाव बनिरहेको बताए। उनले नेपाल विदेशी शक्तिको रणनीतिक प्रतिस्पर्धास्थल बनेको बताए।

अध्यक्ष थापाले नेपालमा धर्म परिवर्तन डढेलो जसरी फैलिरहेको बताए। यसले नेपालीको एकताको आधार भत्काउन थालेको बताए।

यस्तै, अध्यक्ष थापाले आगामी संघीय निर्वाचनमा राप्रपा नेपाललाई जसरी पनि राष्ट्रिय पार्टी बनाउने गरेर काम गर्नुपर्ने बताए। राप्रपा नेपालका कार्यकर्ताले मिहिनेत गरेर भए पनि ३ प्रतिशतको थ्रेसहोल्ड कटाएर पार्टीलाई राष्ट्रिय पार्टी बनाउने गरी सबैले प्रचारप्रसार अभियान थाल्नुपर्ने बताए।

राप्रपा नेपालले प्रदेशस्तरीय स्वयंसेवकमार्फत पार्टीका एजेण्डाहरुलाई जनतामाझ लैजान एकदिने प्रशिक्षण दिएको छ। यसरी खटिने स्वयंसेवकले वडास्तरमा समेत कमिटी गठन गर्ने, भेला गर्ने, प्रचारप्रसार गर्ने र संगठन निर्माण गर्ने केन्द्रिय प्रशिक्षण विभाग प्रमुख सुशील श्रेष्ठले जानकारी दिए।

प्रतिक्रिया