वीरगञ्ज नाकाबाट हुने इन्धनको आयातमा ७८ प्रतिशतले वृद्धि


पर्सा – देशकै प्रमुख व्यापारिक नाका वीरगन्जलाई प्रयोग गरी नेपालका लागि हुने इन्धनको आयातमा उलेख्य वृद्धि भएको छ । गत आर्थिक वर्षको ११ महिनाको तुलनामा चालु आवको सोही अवधिमा वीरगञ्ज नाका प्रयोग हुने इन्धनको आयातमा ७८ प्रतिशतले वृद्धि भएको छ ।

गत आवको साउनदेखि जेठसम्ममा वीरगञ्ज नाका प्रयोग गरी रु ७४ अर्ब ३४ करोड ६६ लाख मूल्य बराबरको १४ लाख १८ हजार २१७ किलोलिटर डिजेल, पेट्रोल, मट्टितेल र हवाई इन्धन आयात भएको थियो । चालु आवको सोही अवधिमा वीरगञ्ज नाका प्रयोग गरी नेपालका लागि एक खर्ब ५३ अर्ब ३६ करोड सात लाख मूल्यको २५ लाख ३१ हजार ६६० किलोलिटर इन्धन आयात भएको छ । यो गत आवभन्दा १०६.२७ प्रतिशत बढी मूल्यको ७८.५१ प्रतिशत बढी इन्धन आयात भएको हो ।

त्यस्तै वीरगञ्ज नाकाबाट हुने खाना पकाउने एलपिजी ग्यासको आयातमा समेत करिब आठ प्रतिशतले वृद्धि भएको छ । गत आवमा दुई लाख ३९ हजार ६३८ मेट्रिकटन ग्यास आयात भएको तुलनामा चालु आवको सोही अवधिमा १८ हजार ५०० मेट्रिकटन बढी अर्थात् दुई लाख ५८ हजार १५० मेट्रिकटन बढी आयात भएको वीरगञ्ज भन्सार कार्यालयले जनाएको छ ।

वीरगञ्ज नाकाबाट डिजेल, पेट्रोल, हवाई इन्धन तथा खाना पकाउने ग्यासको आयात वृद्धि भए पनि मट्टितेलको आयात ३० प्रतिशतले घटेको छ । गत आवमा ११ हजार २२० किलोलिटर इन्धन आयात भएको तुलनामा चालु आवमा तीन हजार ३६० किलोलिटर कम अर्थात् सात हजार ८६० किलोलिटर मात्र आयात भएको वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी सुमित गुप्ताले जानकारी दिए ।

उनले वीरगञ्ज नाकाबाट भित्रिएका डिजेल, पेट्रोल, मट्टितेललगायतका इन्धन र खाना पकाउने ग्यासबाट गत आवभन्दा चालु आवमा करिब ३४ प्रतिशत बढी राजस्व सङ्कलन भएको छ । गत आवमा रु ५४ अर्ब ५३ करोड ९२ लाख राजस्व सङ्कलन भएको तुलनामा चालु आवमा १८ अर्ब २८ करोड ३४ लाख बढी अर्थात् ७२ अर्ब ८२ करोड २६ लाख रुपैयाँ सङ्कलन भएको गुप्ताले बताए ।

नेपालका लागि आवश्यक ७० प्रतिशत इन्धन र ८५ प्रतिशत खाना पकाउने एलपिजी ग्यासको आपूर्ति वीरगञ्ज नाकाबाटै हुने गरेको छ ।

प्रतिक्रिया