जेलमै गएर डीएसपीले गुण्डा भेट्नु ‘गैर व्यावसायिक’: छानबिन प्रतिवेदन

डीएसपी मिलन केसीलाई विभागीय कारबाहीका लागि सिफारिस


काठमाडौं – जेलमै गएर गुण्डा नाइकेलाई भेटेको बारे गठीत छानबिन समितिले प्रतिवेदन बुझाएको छ । केन्द्रीय कारागारमा रहेका गुन्डा नाइके समीरमानसिंह बस्नेतलाई डीएसपी मिलन केसीले भेटेको समाचार बाहिरिएपछि प्रहरीले एसएसपी दिनेशराज मैनालीको संयोजकत्वमा छानविन गर्न गठन गरेको थियो ।

स्वयम्भु वृत्तमा कार्यरत डीएसपी केसीले बस्नेतलाई भेटेको बाहिरिएपछि जिल्ला प्रहरी परिसर काठमाडौंले जेठ ३१ मा छानविन समिति गठन गरेको थियो । एसपी मैनाली नेतृत्वको समितिले प्रतिवेदन बुझाएको जनाइएको छ । डीएसपी केसीको गतिविधि ‘गैर व्यवसायिक’ भएको छानविन समितिको ठहर छ । जेठ २९ मा उनले जिल्ला प्रहरी परिसर काठमाडौंलाई जानकारी नदिई आफुसँगै अर्का एकजनालाई लगेर केन्द्रीय कारागारमा भेटेका थिए ।

डीएसपी केसीले पदीय आचरण बमोजिम काम नगरेको ठहर गर्दै समितिले विभागीय कारवाही गर्न सिफारिस गरेको छ । छानविन प्रतिवेदनको आधारमा प्रक्रिया अघि बढाइने काठमाडौंका एसएसपी सुदीप गिरीले बताए ।

विवादित डिएसपी केसीलाई उपत्यका प्रहरी कार्यालय रानीपोखरीले जेठ ३१ मै वृत्तबाट तानेर छानबिन गरिरहेको छ ।

बस्नेत २०७४ असोजमा निर्माण व्यवसायी महासंघका तत्कालीन अध्यक्ष शरदकुमार गौचनलाई गोली हानेर हत्या गरेको आरोपमा थुनामा छन् ।

प्रतिक्रिया