

दुबईका राजकुमार होटल मेची क्राउनमा बस्ने

झापा – तीनदिने नेपाल भ्रमणका क्रममा आज नेपाल आइपुगेका दुबईका राजकुमार शेख मोहम्मद माक्तुम जुमा ला माक्तुम आज झापास्थित होटल मेची क्राउनमा बस्ने भएका छन् ।
काठमाडौं ओर्लनेवित्तिकै झापा पुगेका राजकुमार माक्तुमले आजको रात उक्त होटलमा विताउने भएका हुन् । राजकुमार शेख मोहम्मद माक्तुम जुमा ला माक्तुम बस्ने भएपछि होटलले आवश्यक तयारी पूरा गरेको जनाएको छ भने सुरक्षा व्यवस्था पनि मिलाएको जनाएको छ ।
नेपालको पूर्वी भाग साथ भारतको सीमावर्ती क्षेत्रका पर्यटकलाई मध्यनजर गर्दै झापाको धुलाबारीमा निर्माण गरिएको पाँच तारे होटल मेची क्राउन १६ विघा क्षेत्रफलमा फैलिएको छ ।
होटेल मेची क्राउन नेपालकै ठूलो क्यासिनो भएको होटल समेत हो । उक्त होटलमा ५ वटा स्विट, १० वटा भिला, २० वटा क्लव र ७० वटा डिलक्स गरी १०५ कोठा रहेका छन् । होटलमा दुई वटा रेष्टुरेन्ट, बार र सभाहल समेत रहेको छ ।
नेपालको पूर्वी भेगमा खड्किएको सुविधा सम्पन्न पाँच तारे होटलको अभाव पूरा गर्नका लागि तम्सिएको मेची क्राउनले नेपालका आन्तरिक पर्यटक र भारतीय पर्यटकलाई विशेष सुविधा दिंदै आएको छ ।

