

कालीगण्डकी डुंगा दुर्घटना अपडेट : डुबेका सबैको सकुशल उद्धार

पाल्पा – पाल्पाको रानीमहलस्थित कालीगण्डकी नदीमा डुंगा पल्टिएर डुबेका सबैको सकुशल उद्वार भएको छ। र्याफ्टिङ गर्ने डुंगा पल्टिँदा त्यसमा सवार उनीहरू बिहीबार बेलुकी पौने ७ बजे डुबेका हुन्।
डुंगामा ७ जना रहेकोमा डुंगा चालकले एक जनालाई उद्धार गरे पनि बाँकी ६ जना कालीगण्डकी नदीमा बेपत्ता भएका थिए । भारतबाट रानीमहल घुम्न आएका पर्यटक डुबेका हुन्।
बेपत्ता भएको करिब १५ मिनेटमा सकुशल उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी उपरीक्षक जनक शाहीले बताए। रानीमहल क्षेत्रमा रानीमहल तेजकुमारीबीच क्याम्पबाट डुंगा सञ्चालन भएको थियो।
अस्थायी प्रहरी चौकी रानीमहलका हवल्दार दधिराम कार्कीको नेतृत्वमा रहेको प्रहरी टोली र डुंगा चालकले उद्धार गरेको उनले बताए। डुंगा पुलको पिलरमा ठोकिएर पल्टिएको थियो। डुबेका सबैको अवस्था सामान्य छ।

