

शुक्रबारदेखि दैनिक चार घण्टा बन्द हुँदै मालढुङ्गा-बेनी सडक

पर्वत – कालीगण्डकी करिडोरअन्तर्गत पर्वतको मालढुङ्गा–बेनी सडक दैनिक चार घण्टा बन्द गरिने भएको छ। बुधवार जिल्ला प्रशासन कार्यालय पर्वतमा बसेको सरोकारवालाहरूको बैठकले बेनी–जोमसोम–कोरला सडक योजनाअन्तर्गत मालढुङ्गा–बेनी सडक स्तरोन्नतिका लागि असार ३ गतेदेखि ३२ गतेसम्म झन्डै एक महिनाका लागि बाटो बन्द राख्ने सहमति भएको हो।
योजना प्रमुख जगत प्रजापतिका अनुसार हरेक दिन बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म दैनिक ४ घण्टा बाटो बन्द गरेर सडक चौडा पार्ने र चट्टान काट्ने काम गर्न लागिएको छ। काम भइरहेका ठाउँ निकै जोखिमपूर्ण रहेकाले सवारी आवतजावत चलिरहेका वेला सडकको काम गर्दा जोखिम हुने भएकाले सडक अवरुद्ध गरेर स्तरोन्नतिको काम गर्नुपरेको उनको भनाइ छ।
यो अवधिमा कुश्मा नगरपालिका–१ पाङको मालढुङ्गादेखि जलजला गाउँपालिका–३ वारी बेनीसम्मको सडक अवरुद्ध हुनेछ। अत्यावश्वक अवस्थामा रहेका एम्बुलेन्स वा बिरामी बोकेका गाडीलाई भने सहजीकरण गरिने आयोजनाले बताएको छ। उक्त अवधिमा वैकल्पिक सडकको प्रयोग गर्न पनि आयोजनाले अनुरोध गरेको छ।
बाटो अवरोध हुन लागेको बारेमा केही व्यवसायी तथा स्थानीय बासिन्रुले भने प्रायोजित ढङ्गबाट सडक अवरुद्ध गरिएको भन्दै त्यसको विरोध गरेका छन्। बाटोको स्तरोन्नतिका लागि भन्दै यसअगाडि पनि बन्द गरिएको बाटो पुनः अवरोध गर्नु केही व्यक्तिको निहित स्वार्थका लागि भएको उनीहरूले बताएका छन्। अवरोध गर्नुपर्ने आवश्यकता नै नभएको ठाउँमा समेत लामो समयदेखि बाटो अवरुद्ध गरिनु आमनागरिकलाई दुःख दिने काम भएकाले यसमा सरोकारवालाहरूको ध्यान जानुपर्ने उनीहरूको भनाइ छ।
यसअगाडि गत २०७८ पुस १५ गतेदेखि माघ १४ गतेसम्म पनि दैनिक पाँच घण्टा सवारी आवतजावत बन्द गरेर सडकको काम गरिएको थियो। सवारीसाधनको चापले सडक विस्तारको काम प्रभावित बनेपछि आयोजनाले सडक बन्द गर्नुपरेको बताउँदै आएको छ। १३ किलोमिटर दूरीको सडकका विभिन्न भागमा काम भइरहेको छ।
मालढुङ्गादेखि जलजला गाउँपालिकाको वडा नं. ३, ४, ७ र ८ हुँदै म्याग्दीको सदरमुकाम बेनी जोड्ने उक्त सडकलाई दुई लेनको बनाउन लागिएको छ। मालढुङ्गा–बेनी सडक चीन र भारत जोड्ने नेपालको सबैभन्दा छोटो सडक कालीगण्डकी करिडोर अन्तर्गत पर्छ।
२०७७ चैतमा ५२ करोड ८६ लाख रुपैयाँमा ठेक्का सम्झौता गरेको निर्माण कम्पनीले विभिन्न खण्डमा मजदुर र उपकरण परिचालन गरेर सडक विस्तार, पर्खाल र नाली निर्माणको काम गरिरहेको छ। हाल पिचसहित करिब ६ मिटरको हाराहारीमा रहेको सडकलाई ९ मिटर चाक्लो बनाएर एक मिटरको नाली र दुई लेनमा ८ मिटर चौडाइका दरले कालोपत्रे गर्न लागिएको हो।

