

राजसंस्थाको औचित्य समाप्त भयाे : कमल थापा

काठमाडौं – राप्रपा नेपालका अध्यक्ष कमल थापाले राजसंस्थाको औचित्य समाप्त भएको बताएका छन् ।
उनले अब कुनै पनि हालतमा राजसंस्था पुनःस्थापना हुन नसक्ने पनि बताए ।
पार्टीको लुम्बिनी प्रदेश स्तरीय कार्यकर्ता भेलामा आएका अध्यक्ष थापाले बिहीबार बुटवलमा आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै काँग्रेस, एमालेको साथ र समर्थन विना राजनीतिक परिवर्तन सम्भव नभएको बताए ।
उनले आफूले राजसंस्थालाई टाउकोमा बोकेर हिडेको तर त्यो अभियानमा राजा र राजसंस्थाको कुनै प्रकारको सहयोग नपाएको बताउँदै बहुलठ्ठी पारश शाहका लागि सति जना नसक्ने बताए ।
राष्ट्रिय प्रजातन्त्र पार्टीमा सैद्धान्तिक रुपमा विचलन आएको बताउँदै उनले राष्ट्रिय प्रतातन्त्र पार्टीले राजसंस्थाको एजेण्डा छाडेमा ससम्मान पार्टी एकता गर्न सकिने बताए । तर, राप्रपा निर्मल निवासको रिमोट कन्ट्रोलमा रहेकाले त्यो भने सम्भव नभएको उनको भनाइ छ ।
राप्रपामा सैद्धान्तिक रुपमा विचलन आएपछि राप्रपा नेपाललाई पुरजाग्रित गरिएको र देशको धरातललाई आत्मसात गरेर नयाँ सोचका साथ राप्रपा नेपाललाई अघि बढाउन खोजिएको उनले बताए ।

