तारा एयरको जहाज दुर्घटनाग्रस्त भएको पुष्टी, ‘घटनास्थलमा हेलिकोप्टर ल्यान्ड गर्न सकेको छैन’
काठमाडौं – साढे २ घन्टादेखि हराइरहेको तारा एयरको विमान मुस्ताङको लार्जुङ भन्ने स्थानमा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ ।
नेपाल वायुसेवा सञ्चालक संघका प्रवक्ता योगराज कँडेलले विमान दुर्घटना भएको पुष्टि गरे ।
‘मुस्ताङको लार्जुङ भन्ने स्थानमा दुर्घटनाग्रस्त अवस्थामा विमान भेटिएको जानकारी प्राप्त भएको छ,’ उनले भने, ‘मौसम खराबीका कारण हेलिकोप्टर जान नकसेपछि अहिले प्रहरीको टोली उक्त क्षेत्रमा जाँदै गरेको जानकारी आएको छ ।’
कँडेलले उक्त स्थान ज्यादै अप्ठेरो ठाउँमा रहेको हुनाले उद्धारका लागि जान नै कठिन रहेको बताए । उनले उद्धारका लागि सुरक्षाकर्मी र स्थानीयबासी पुगिसकेका नसकेको पनि बताए । घटनास्थलतर्फ सुरक्षाकर्मी जाने प्रयास गरेको र नेपाली सेनाको हेलिकोप्टर पटकौंपटकको प्रयासमा पनि उक्त क्षेत्रमा जान नसकेको जनाइएको छ । अहिले सेनाको हेलिकोप्टरले चौथोपटक उक्त क्षेत्रमा जाने प्रयास गरिररहेको छ ।
तारा एयरको ९–एन एइटी विमानमा २ जना विदेशी, ४ जना भारतीय र १३ जना नेपाली यात्रु सवार थिए । साथै, विमानका पाइलट प्रभाकर प्रसाद घिमिरे, को–पाइलट उत्सव पोख्रेल र विमान परिचारिका किस्मी थापा सवार थिए ।
बिहान ९ः५५ बजे पोखराबाट जोमसोमका लागि उडान भएको विमान उडान भएको केही समयपछि सम्पर्कबिहीन भएको थियो ।