‘धवलागिरी हिमालको वरिपरि थसाङबाट जहाज सम्पर्कबिहीन’
काठमाडौं — बिहान करिब सवा १० देखि सम्पर्कबिहीन रहेको तारा एयरको जहाजको अवस्था अहिलेसम्म पत्ता लागिसकेको छैन । पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको जहाज सवा २ घण्टादेखि सम्पर्कविहीन भएको हो ।
म्याग्दी कटेर उकालो लागेपछि जहाज बेपत्ता भएको बताइएको छ । उक्त क्षेत्र भनेको धवलागिरी हिमालको वरिपरि भएको पत्रकार सुशील थकालीले अनलाइनन्यूज७सँगको कुराकानीमा बताए ।
उनले मुस्ताङ थासाङ क्षेत्रका स्थानीयले उक्त जहाज त्यहाँ २ पटकसम्म घुमेको बताएको पनि बताए । बादल लागेका कारण जहाज नदेखिएको तर आवाज ठूलो आएको उनीहरूलाई उदृत गर्दै लेतेमै थकालीले जानकारी दिए । थाकालीले भने ‘यहाँका स्थानीयले आवाज सुनेका रहेछन् । प्रहरीले पनि त्यो आवाज सुनेको भन्नेछ ।’ ‘बादलले टम्मै छ । कतै केही देखिँदैन । हल्का पानी परिरहेको छ, मान्छेमात्रै पनि जान सकिने अवस्था छैन, अहिले हेलिकोप्टर त के आउला र ?’, उनले थपे ।
अहिले प्रहरी लेते क्षेत्रमा केन्द्रित भएर खोजीमा जुटेको उनले बताए । सो जहाजमा चालक दलका तीन सदस्यसहित २२ जना सवार थिए ।