मौसम सुधार हुनेबित्तिकै खोजीकार्य पुनः सुरु हुन्छः प्राधिकरण


काठमाडौं – १९ यात्रुसहित पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको ९ एनएईटी ट्विनअटर विमान अन्तिमपटक जोमसोम टावरसँग बिहान १० बजेर ७ मिनेटमा सम्पर्कमा आएको नेपाल नागरिक उड्डयन प्राधिकरण कार्यालय विमानस्थलले जनाएको छ ।

कार्यालयका अनुसार उक्त जहाज बिहान १० बजेर ७ मिनेट जाँदा घोडेपानी भन्ने स्थानमा सम्पर्कमा आएको र सो पछि सम्पर्कबिहीन भएको थियो । अहिले काठमाडौं, पोखरा  र जोमसोममा खोज तथा उद्दारका लागि थप हेलिकोप्टरहरु स्टान्डबाइ रहेको पनि प्राधिकरणले जनाएको छ ।

मौसममा सुधार हुनासाथ हवाईमार्गबाट खोजी सुरु गरिने र अहिले स्थलमार्गबाट नेपाली सेना र नेपाल प्रहरी खटिएको पनि प्राधिकरणले जनाएको छ ।

उक्त विमानमा ३ जना चालकदल र १९ यात्रुसहित २२ जना रहेको जनाइएको छ ।

उक्त जहाज क्याप्टेन प्रभाकर घिमिरेले, विमान परिचालिका किस्मी थापा र चालक दलका अर्का सदस्य उत्सव पोखरेलले उडाएको जनाइएको छ ।

यात्रुहरुमा इन्द्रबहादुर गोले, पुरुषोत्तम गोले, राजनकुमार गोले, माइक ग्रीट ग्राफ, बसन्त लामा, गणेशनारायण श्रेष्ठ, रविना श्रेष्ठ, रश्मी श्रेष्ठ, रोजिना श्रेष्ठ, प्रकाश सुनुवार, मकरबहादुर तामाङ, राममाया तामाङ, सुकुमाया तामाङ, तुलसादेवी तामाङ, अशोक कुमार त्रिपाठी, धनुष त्रिपाठी, ऋतिका त्रिपाठी, उवे विल्नर र वैभवी बाण्डेकर रहेको तारा एयरले जनाएको छ ।

बिहान ९ बजेर ५५ मिनेटमा पोखराबाट उडेको जहाज सम्पर्कविहीन भएको उक्त घटनाको विस्तृत विवरण आइसकेको छैन । सो क्षेत्रमा बाक्लो बादलका कारण सम्पर्कबिहीन भएको हुनाले  जहाजबारे खोजविन सुरु भएको छ ।

May be an image of text

प्रतिक्रिया