
भरतपुरमा रेनुको जित पक्का : गणना गर्न बाँकी तीन हजार मत, अग्रता १२ हजारको
काठमाठौँ- भरतपुर महानगरपालिको मतगणना अन्तिम चरणमा पुगेको छ। ३ हजार मत मात्रै गणना हुन बाँकी रहँदा सत्ता गठबन्धनबाट प्रमुख पदमा उम्मेदवारी दिएकी नेकपा माओवादी केन्द्रकी रेनु दाहालको फराकिलो मतान्तर कायमै छ।
अबको केही बेरमा दाहाल भरतपुर महानगरको प्रमुख पदमा पुनः निर्वाचित भएर आउने पक्का भएको छ ।
हालसम्मको मत परिणामअनुसार १ लाख २५ हजार८४२ मत गन्दा दाहाल १२ हजार १ सय ४० मतले नेकपा एमालेका उम्मेदवार विजय सुवेदीभन्दा अगाडि छिन् । दाहालले ५१ हजार १ सय १२ मत प्राप्त गर्दा सुवेदीले ३८ हजार ९ सय ७२ मत प्राप्त गरेका छन् ।
यस्तै उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारी राप्रपाकी हिमला गुरुङभन्दा २१ हजारभन्दा धेरै मतले अगाडि छन् ।
अहिले २८ र २९ को गणना भैरहेको छ । वडा नम्बर २८ मा एमाले ११५ मतले अगाडि छ भने अन्तिम वडा २९ मा नेपाली कांग्रेसले ३७९ मतको अग्रता लिइरहेको छ ।



कागजपत्र |
