बागमती प्रदेशमा पहिलो दल रहेको एमाले तेस्रोमा झर्यो


काठमाडौं- वैशाख ३० गते देशभर एकै चरण्मा भएको स्थानीय निर्वाचनको मत परिणाम आउने क्रम जारी छ । संघीय राजधानीसमेत रहेको वाग्मती प्रदेशको मत परिणाम अन्तिमतिर पुगेको छ ।

कुल ११९ स्थानीय तह रहेको वाग्मती प्रदेशका ११५ स्थानीय तहको नतिजा आउँदा कांग्रेस सबैभन्दा ठुलो पार्टी बनेको छ । ०७४ मा पहिलो पार्टी बनेको एमाले तेस्रोमा झर्ने देखिएको छ ।

हालसम्मको नतिजाअनुसार कांग्रेस ५६ पालिका जित्दै पहिलो स्थानमा छ । एमाले र माओवादी केन्द्रले २६/२६ पालिका जितेका छन् । नेकपा (एकीकृत समाजवादी)ले पाँचवटा पालिका जितेको छ भने राप्रपा र नेपाल मजदुर किसान पार्टीले १/१ पालिका जितेको छ ।

नतिजा आउन बाँकी रहेका चारवटा पालिकामध्ये काठमाडौंमा स्वतन्त्र उमेदवार बालेन साह फराकिलो मतान्तारले अगाडि छन् । भरतपुर महानगरमा पनि माओवादी केन्द्रकी रेनु दाहालेले पनि अग्रता बढाउँदै लगेकी छन् । ललितपुर महानगर र काभ्रेको पाँचखालमा पनि कांग्रेसका उमेदवार फराकिलो मतान्तरले एमालेका उमेदवारभन्दा अगाडि छन् ।

बाँकी रहेकामध्ये भरतपुर महानगरमा माओवादी केन्द्रले जित्ने सम्भावना बलियो देखिएको छ । वाग्मती प्रदेशमा माओवादी २७ स्थानीय तहसहित दोस्रो ठुलो पार्टी बन्ने देखिएको छ । यता एमाले भने नतिजा आउँन बाँकी रहेका पालिकामा अनुकूल नतिजा नआउँदा तेस्रो पार्टीमा सीमित हुने अवस्थामा छ ।

०७४ को स्थानीय तह निर्वाचनमा ३५ स्थानीय तह जितेर दोस्रो भएको कांग्रेसले २१ स्थानीय तह थपिसकेको छ । नतिजा आउन बाँकी रहेका दुई पालिकामा पनि कांग्रेसले फराकिलो अग्रता कायम गरेको छ । यस्तै, ०७४ मा ६४ स्थानीय तह जित्दै पहिलो पार्टी बनेको एमालेले बाँकी रहेका चार पालिकामध्ये कुनैमा पनि अग्रता लिएको छैन । उसले ३८ पालिका गुमाउने अवस्था देखिएको छ ।

यता ०७४ मा १७ पालिकामा नेतृत्व जितेको माओवादीले ९ स्थानीय तह थप्न सफल भएको छ । भरतपुरमा पनि जितेमा माओवादी २७ पालिकासहित वाग्मती प्रदेशको दोस्रो ठुलो पार्टी बन्ने देखिएको छ ।

एमालेबाट फुटेको एकीकृत समाजवादीले प्रदेशको एक मात्रै उपमहानगर हेटौँडासहित पाँचवटा पालिकाको नेतृत्व गर्ने भएको छ । यसपटक पनि भक्तपुर नगरपालिकामा नेपाल मजदुर किसान पार्टीले नेतृत्व लिएको छ । काठमाडौंको शंखरापुर नगरपालिकामा भने राप्रपाको नेतृत्व आएको छ ।

प्रतिक्रिया