नियन्त्रणमा लिइएका १२ सरकारी गाडी छाडियो, चालकलाई सम्झाइबुझाइ


कैलाली – कैलालीमा सार्वजनिक बिदाका दिन चलाइएका सरकारी गाडी प्रहरीले नियन्त्रणमा लिन थालेको छ । सार्वजनिक बिदाका दिन आज कैलालीमा चलाइएका विभिन्न जिल्लाका १२ सरकारी गाडी नियन्त्रणमा लिएर सम्झाइबुझाइ गरी छाडिएको प्रहरीले जनाएको छ ।

‘कतिपय गाडी मर्मतका लागि र अन्य कतिपय काम विशेषले बिदाको दिनमा चलाइएको पाइयो’, जिल्ला प्रहरी कार्यालयका प्रवक्ता बेदप्रकाश जोशीले भने, ‘यसरी चलाइएका गाडी केही समय नियन्त्रणमा राखेर चालकलाई सम्झाइबुझाइ गरी छाड्नुपरेको छ ।’

प्रमुख जिल्ला अधिकारी किरण थापाले बढ्दै गएको इन्धनको खपत घटाउन सरकारको निर्णयानुसार सार्वजनिक बिदाका दिन गाडी चलाउन रोक लगाइएको बताए । प्रजिअ थापाले भने, ‘बिदाका दिनमा अत्यावश्यक सरकारी काम परेको हकमा प्रदेश सरकारका सचिव वा जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिएर मात्र गाडी चलाउन पाइनेछ ।’

प्रतिक्रिया