आठ वर्षअघि भएकाे ‘ब्युटी पेजेन्ट’ बलात्कार घटनाबारे छानबिन गर्न समिति गठन


काठमाडाैं – ‘ब्युटी पेजेन्ट’ अर्थात् सौन्दर्य प्रतियोगिताका आयोजकले आठ वर्ष अघि बलात्कार गरेको भनि सामाजिक सञ्जालमार्फत् सार्वजनिक घटनाबारे छानबिन शुरू भएको गृह मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले प्रेस विज्ञप्ति निकालेर वरिष्ठ प्रहरी उपरीक्षक वसन्त कुँवरको संयोजकत्वमा समिति गठन गरी छानबिन शुरु गरिसकेको जानकारी दिए ।

विज्ञप्तिमा महिलामाथि हुने हिंसाका घटनामा दोषीलाई हदैसम्मको कारबाही गर्न सरकार प्रतिबद्ध रहेको र अहिले सार्वजनिक भएको घटना पनि छानबिन शुरू भइसकेको उल्लेख छ । गृह मन्त्रालयले समितिलाई अनुसन्धान कार्यमा सहयोग गर्न सबैसँग अनुरोध पनि गरेको छ ।

आठ वर्षअघि मिस ग्लोबल इन्टरनेशनलमा सहभागी युवतीमाथि आयोजकले नै बलात्कार र यौन दुर्व्यवहार गरेको घटना पीडित युवतीले सामाजिक सञ्जाल टिकटक मार्फत सार्वजनिक गरेकी हुन् ।

हिजो प्रतिनिधि सभाको बैठकमा साँसदहरुले दोषीमाथि कारबाही गर्न माग गरेका थिए ।

प्रतिक्रिया