


धनगढीमा गोपाल हमाल प्रतिस्पर्धीभन्दा दोब्बर मतले अघि

काठमाडौं – कैलालीको धनगढी उपमहानगरपालिकामा मेयरका स्वतन्त्र उम्मेदवार गोपाल हमालले प्रतिस्पर्धीलाई दोब्बर मतले पछि पारेका छन्। हमालले १९ हजार मत कटाएका छन् । ४२ हजार २३० मत गणना हुँदा उनले १९ हजार १४७ मत पुर्याएका हुन् ।
हमालका प्रतिस्पर्धी गठबन्धनको तर्फबाट मेयरका प्रत्यासी रहेका नेपाली कांग्रेसका नृपबहादुर वडले ९ हजार ५५७ मत प्राप्त गरेका छन् । उनी हमालभन्दा ९ हजार ५९० मतले पछाडि छन् ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार नेकपा एमालेका रणबहादुर चन्दले ४ हजार ६६४ मत पाएका छन् । त्यस्तै, उपमेयरमा गठबन्धनको तर्फबाट माओवादी केन्द्रकी शान्ति अधिकारीले ८ हजार ८१५ मतका साथका अग्रता कायमै राखेकी छन् ।
उनलाई पछ्याइरहेकी एमालेकी कन्दकला रानाले ८ हजार १४१ र स्वतन्त्र उम्मेदवार प्रभाकर भण्डारीले ५ हजार ३६ मत पाएका छन् ।
१९ वटा वडा रहेको धनगढीमा हालसम्म १, २, ३, ४, १६, १७, १८ र १९ को मतगणना सकिएको छ । यसपालि धनगढीमा कुल ६३ हजार ७१५ मत खसेको थियो । अहिले धनगढीका ५ वडाको मत गणना जारी छ ।
अहिले वडा नम्बर ५, ६, ७, १४ र १५ को मत गणना भइरहेको छ।

