

गठबन्धनको कारबाहीमा परेका चौधरी प्यानलसहित विजयी

काठमाडौं- कैलालीमा सत्तासाझेदार गठबन्धनको कारबाहीमा परेका नेपाली कांग्रेसका उम्मेदवार राजसमझ चौधरी विजयी भएका छन्। उनी कैलारी गाउँपालिकाको अध्यक्षमा विजयी भएका हुन्। चौधरीले गठबन्धनका आधिकारिक उम्मेदवार निर्वतमान गाउँपालिका अध्यक्ष माओवादीका लाजुराम चौधरीलाई ४ हजारभन्दा बढीको मतान्तरले पराजित गरेका छन्।
राजसमझले १० हजार ४ सय ९२ मत प्राप्त गरे भने लाजुरामले ६ हजार ४ सय ३० मत प्राप्त गरेका छन् । उपाध्यक्षमा कांग्रेसकी भागवतीकुमारी चौधरी विजयी भएकी छन् । उनले १० हजार ४ सय ८४ मत ल्याएर निर्वतमान उपाध्यक्ष माओवादीकी लक्ष्मी सत्गौवा थारुलाई पराजित गरेकी हुन् । सत्गौवाले ६ हजार ४ सय ७७ मत प्राप्त गरिन् । कैलारी गाउँपालिका १ देखि ९ वडासम्म कांग्रेसका प्यानल नै जितेको छ ।
उम्मेवारी फिर्ता लिने बेलासम्म गठबन्धन दलमा सहमति नजुट्दा कांग्रेसका तर्फबाट अध्यक्षमा राजसमझ चौधरीको उम्मेदवारी कायम रहेको थियो । उम्मेदवारी फिर्ता लिने समय सीमा सकिएपछि गठबन्धन दलले माओवादीका उम्मेदवार लाजुराम चौधरीलाई आधिकारिक उम्मेदवार घोषणा गरेको थियो । तर, गठबन्धनको उक्त सहमति र निर्णयलाई उल्लंघन गर्दै कांग्रेसका रामसमज चौधरी प्रचारमा हिँडेका थिए।
कांगेसका जिल्लास्तर तथा केन्द्रस्तरका नेताहरू भने गठबन्धनको आधिकारिक उम्मेदवार नभएकोले खुलेर साथ दिएका थिएनन्। उपाध्यक्षमा कांग्रेसकी भागवतीकुमारी चौधरीलाई आधिकारिक उम्मेदवार घोषणा गरिएको थियो।

