सबल यात्राको अभ्यास, कुशल पत्रकारिताको आधार


विश्वको सबैभन्दा भयानक हतियारका रुपमा रहेको सूचना एउटा सभ्य र नागरिकमैत्री पेशा पनि हो– पत्रकारिता मार्फत ।

एउटा सूचनादाता हजारौं तोपहरू भन्दा पनि खतरनाक हुन्छन् भन्ने त शासकहरूले व्याख्या गरेकै छन् । तर यसलाई नागरिकको हितका पक्षमा उपयोग गर्ने पेशा वा व्यावसायचाहिँ सञ्चारकर्म हो । हामी आजदेखि यो कर्मको साधारण हिस्सेदारीको पाइला चालिरहेका छौं । यसलाई असाधारण सेवा गर्न सक्ने लक्ष्यको मार्गमा हिँडाउने अठोट छ ।

नेपाली पत्रकारिता क्षेत्रमा देखिएका कतिपय अवस्थाबाट चिन्तित छौं तर यो चिन्तामा पत्रकार पर्नुहुँदैन भन्ने आचरणको पथमार्गी हुने निश्चय पनि लिएका छौं । सबैभन्दा ठूलो कर्म श्रमको ग्यारेन्टि र सूचनाको अधिकार भन्ने चिजलाई www.kagajpatra.com ले नजरअन्दाज गर्ने छैन । हाम्रो साझा मान्यता के छ भने कसैलाई लगार्न, पछार्नका निम्ति हामी यो ठूलो दौडमा सहभागी भएका होइनौं यो दौड भनेको सूचना जनतासम्म निरन्तर पुग्ने र केही युवाहरूले सेवामूलक व्यावसायलाई अगाडि बढाउनुपर्छ भन्ने उदाहरण जनताका लागि र प्रतिस्पर्धा आफैंसँगको गुणस्तरताका लागि हुने छ ।

दुनियाँ नै डिजिटल माध्यमको अनेकतामा गाँसिएका कारण हामी यहि प्ल्याटफर्ममार्फत मैदानमा छिरेका हौं । दौडको त्यो पहिलो चरणमा प्रवेश गरेका छौं कि हामीसँग जीतको सबैभन्दा उँचो दम्भको लोभ होइन, हाँसिरहेका जनता, हाँस्न नसकेकालाई हँसाउनसक्ने योगदानको हिस्सेदारी, सूचनामा विश्वसनीयता कमाईको लालच छ । हाम्रो यो लालचलाई आम पाठक, विज्ञापनदाता र अन्य सबै पक्षको सहयोग र सुझावले मात्र पूरा गर्न सक्छ । हामी त्यो विश्वास कमाउने लहडको सपनाचाहिँ अवश्य बोकेर हिँड्यौं ।

सातै प्रदेशको पहरेदारीको यो यात्रा हरेक क्षेत्रलाई समेट्नका लागि नै सुरु गरिएको हो । हामी सातै दिन आठै प्रहर निरन्तर यहि गुरुमन्त्र र कर्मको अभ्यस्ततामा हुनेछौं । बाँकी हाम्रा अनेक प्रकारका कमजोरी, सुधार्नुपर्ने चिजलगायतका सुझावलाई पहिलो चरणको सम्पत्ति ठानेरै अघि बढ्ने प्रण गर्छौं ।

प्रतिक्रिया