कपिलवस्तु महाराजगञ्ज र तुलसीपुर-१७ को मतदान जेठ ३ गते हुने


कपिलवस्तु – कपिलवस्तुको महाराजगञ्ज नगरपालिकामा वैशाख ३० गतेका लागि हुने भनिएको निर्वाचन उपप्रमुख पदको उम्मेदवार शुभावति कुर्मीको मृत्यु भएपछि स्थगित भएको छ । अब निर्वाचन जेठ ३ गते निर्वाचन हुने भएको छ ।

निर्वाचन आयोगले मंगलबारका दिउँसोका लागि कार्यक्रम प्रकाशित गर्दै नयाँ कार्यतालिका प्रकाशन गरेको हो । नेपाली कांग्रेसबाट उम्मेदवार बनेकी निवर्तमान उपप्रमुख शुभावति कुर्मीको गएराति एक बजे मृत्यु भएको थियो ।

उक्त पदमा वैशाख २८ गते उम्मेदवारी दिने कार्यतालिका प्रकाशित गरिएको छ । अन्य ९ स्थानीय तहमा भने वैशाख ३० गते नै निर्वाचन हुने निर्वाचन आयोगले जनाएको छ ।

तुलसीपुर-१७ को मतदान सर्‍यो

दाङ – तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १७ का वडाध्यक्षका उम्मेदवार लवरु चौधरीको मृत्यु भएको छ । एमालेबाट उम्मेदवार बनेका चौधरीको मंगलबार राति मृत्यु भएको हो । बघौसी निवासी ५३ वर्षीय चौधरी मिर्गौला, कलेजोको बिरामी थिए ।

यसअघिको कार्यकालमा तुलसीपुर १७ को वडा सदस्य भएरसमेत काम गरेका थिए । चुनाव प्रचारकै क्रममा बिरामी परेपछि उनलाई उपचारका लागि दुई पटक नेपालगन्जस्थित भेरी अस्पतालमा लगिएको थियो । तर, त्यहाँ पनि सन्चो नभएपछि थप उपचारका लागि काठमाडौंको टिचिङ अस्पतालमा लगिएको थियो। त्यही उपचारको क्रममा उनको निधन भएको हो ।

तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १७ मा जेठ ३ गते मतदानको समय तोकिएको छ । एमालेको तर्फबाट अध्यक्षको उम्मेदवार बनेका लबरु चौधरीको निधन भएपछि स्थानीय निर्वाचन कार्यालयले ३० गते हुने मतदाता कार्यक्रमलाई स्थगन गरेर ३ गतेलाई तय गरिएको निर्वाचन अधिकृत राजेश्वर अर्यालले बताए ।

उनले बुधवार र बिहीबार चुनावी प्रक्रियाको सबै काम पुरा गर्ने गरी कार्यतालिका प्रकाशन गरेको बताए । सम्बन्धित दलको आधिकारिक उम्मेदवारको मनोनयन हुँदै चुनाव चिन्न दिनेसम्मको काम सक्ने तयारी भएको बताए ।

‘बिहीबार ५ बजेसम्म यो काम सक्ने कार्यतालिका सार्वजनिक गरिसकेका छौं’, उनले भने, ‘त्यसपछि चुनावी अभियान उम्मेदवारले गर्नुहुन्छ । अनि ३ गते मतदान हुन्छ ।’ अर्यालले वडा नम्बर १७ को मतदान नसकिँदासम्ममा अन्य वडाको मतगणना पनि नगरिने बताए ।

प्रतिक्रिया