कर्णालीमा ३७७ मतदान केन्द्र अति संवेदनशील


सुर्खेत – कर्णाली प्रदेशमा ३७७ मतदान केन्द्र अति संवेदनशील रहेको जनाइएको छ । कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका निमित्त प्रहरी नायब महानिरीक्षक राजेशनाथ बास्तोलाले यहाँका दश जिल्ला ३७७ मतदान केन्द्र अति संवेदनशील रहेको जनाए ।

उनले कर्णाली प्रदेशभरि ९०७ मतदानस्थलअन्तर्गत एक हजार ३८५ मतदान केन्द्र रहेको जनाए । कूल मतदान केन्द्रमध्ये ३३८ सामान्य, ६७० संवेदनशील र ३७७ अतिसंवेदनशील रहेको निमित्त प्रहरी नायब महानिरीक्षक बास्तोलाले बताए ।

उनले भौगोलिक विकटता, मतदान केन्द्रको दूरी, मतदाता सङ्ख्या, विगतको घटना विश्लेषण र राजनीतिक प्रभावलाई दृष्टिगत गरी मतदान केन्द्रको वर्गीकरण गरिएको र त्यहीअनुसार सुरक्षा प्रबन्ध मिलाइएको बताए । आवश्यक सामग्रीसहित सबै मतदान केन्द्रमा सुरक्षा अवस्थाका बारेमा पनि निरीक्षण गरिएको निमित्त प्रहरी नायब महानिरीक्षक बास्तोलाको भनाइ थियो ।

‍कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रत्येक जिल्लास्थित सुरक्षा समितिहरू क्रियाशील रहेकाले छिट्फुट घटनाबाहेक अवस्था शान्त नै छ र निर्वाचन प्रचारका लागि उम्मेदवारहरूले घरदैलो कार्यक्रम गरिरहेका छन् । यही वैशाख ३० हुने स्थानीय तह निर्वाचनका लागि हाल कर्णालीमा चार लाख ४९ हजार ३० महिला र चार लाख ५९ हजार ४०१ पुरुष गरी कूल मतदाता सङ्ख्या नौ लाख आठ हजार ४३३ रहेको जनाइएको छ ।

प्रतिक्रिया