छुट्टाछुट्टै सवारी दुर्घटनामा एकैदिन ७ जनाको मृत्यु


काठमाडौं – देशका विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा सात जनाको मृत्यु भएको छ । दाङ, काभ्रे, सर्लाही, धनुषा, सुनसरी र मकवानपुरका छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा परी ७ जनाको मृत्यु भएको हो ।

दाङको गढवा गाउँपालिका ७ घोराहास्थित सडकमा वाग्मती प्रदेश ०१-०२७ च ००७७ नम्बरको स्कारपियो र रा.६ प ७३७९ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई सोमबार दिउँसो दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेहरुमा मोटरसाइकल चालक गढवा गाउँपालिका ६ सिबिर बस्ने २३ वर्षीय सुरज चौधरी र मोटरसाइकलमा सवार सोही गाउँपालिका ६ आटिपाकर बस्ने २० वर्षीय अरूण चौधरी रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनीहरुको मेडिकल कलेज कोहलपुर बाँकेमा उपचारको क्रममा मृत्यु भएको हो । गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यस्तै काभ्रेको तेमाल गाउँपालिका ८ भोरज्याङबेशीस्थित सडकमा बा. ३ ख २६४३ नम्बरको ट्रक ब्रेक फेल भई सडकबाट करिब ५ सय मिटर तल खसेर सोमबार दिउँसो दुर्घटना हुँदा ट्रकमा सवार चौरिदेराली गाउँपालिका बस्ने १६ वर्षीय कोसुबिक्षा तामाङको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको धुलिखेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

घाइते भएका अन्य ७ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ भने ट्रक चालक उपचार पश्चात डिश्चार्ज पछि प्रहरीले नियन्त्रणमा लिएको छ । सर्लाहीको हरिवन नगरपालिका ११ स्थित सडकमा प्रदेश २-०३-००९ प ७८६४ नम्बरको मोटरसाइकललाई प्रदेश ३-०३-००१ ख ०१४५ नम्बरको ट्याङ्करले सोमबार दिउँसो ठक्कर दिँदा मोटरसाइकल चालक हरिवन नगरपालिका ४ बस्ने ४५ वर्षीय राम बहादुर थापाको मृत्यु भएको छ ।

ठक्करबाट गम्भीर घाइते भएका उनको नमूना अस्पताल हरिवन हुँदै हेलिक्पटरद्धारा मेडिसिटि हस्पिटल ललितपुर ल्याएकोमा उपचारको क्रममा मृत्यु भएको हो । फरार ट्याङ्कर चालकको प्रहरीले खोजी गरिरहेको छ । धनुषा, लक्ष्मीनिया गाउँपालिका ४ सपहीस्थित सडकमा ज १ ह ४८८३ नम्बरको टेम्पु अनियन्त्रित भई सोमबार दिउँसो दुर्घटना हुँदा टेम्पुमा सवार लक्ष्मीनिया गाउँपालिका १ बस्ने आशा देवी साहकी छोरी ८ वर्षीया जुली कुमारी साहको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएकी उनको सेन्ट्रल हस्पिटल लक्ष्मीनियामा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका अन्य ४ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका ५ टपरास्थित सडकमा को.३ त ६३ नम्बरको ट्याक्टरबाट लडेर ट्याक्टरमा सवार सोही गाउँपालिका ८ बस्ने १७ वर्षीय तप्रेज
मियाको सोमबार दिउँसो मृत्यु भएको छ । लडेर गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल ईनरुवामा उपचारको क्रममा मृत्यु भएको हो । हाल फरार ट्याक्टर चालकको प्रहरीले खोजी गरिरहेको छ ।

मकवानपुरको हेटौंडा उपमहानगरपालिका १५ शिखरपानीस्थित सडकमा हाल नम्बर नखुलेको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ५५ वर्षीया मनमाया पाख्रिनको सोमबार राति मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएकी उनको हेटौंडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । हाल फरार मोटरसाइकल चालकको प्रहरीले खोजी गरिरहेको छ ।

प्रतिक्रिया