स्थानीय निर्वाचनलाई संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षाको लडाईको रूपमा लिएको छु : प्रचण्ड


काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (अध्यक्ष) ले स्थानीय तहको निर्वाचन समृद्ध नेपाल निर्माणका लागि कोशेढुंगा बन्ने विस्वास व्यक्त गरेका छन् ।

अध्यक्ष प्रचण्डले आज (सोमबार) एक विज्ञप्ति जारी गर्दै यस्तो बताएका हुन् । उनले सिंहदरबार केन्द्रित अधिकार जनताको घर दैलोमा स्थापित गराउन स्थानीय तहको आसन्न निर्वाचन सामाजिक न्यायसहितको समृद्ध नेपाल निर्माणका लागि कोशेढुंगा बन्ने विस्वास समेत व्यक्त गरे । उनले निर्वाचनलाई आफूहरूले संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि अग्रगमन र प्रतिगमनको लडाईको रूपमा लिएको पनि बताएका छन् ।

यतिखेल संघीयता र समावेशी समानुपातिक प्रतिनिधित्व विरोधी तथा उत्पीडित, उपेक्षित जनता अधिकार सम्पन्न भएको नरुचाउने प्रतिगामी तत्वहरूले संविधान र ऐतिहासिक उपलब्धि विरुद्ध ठूलो षड्यन्त्र गरिरहेको पनि विज्ञप्तिमा उल्लेख गरिएको छ । जनताले साँचो अर्थमा खोजेको संघीयता, समावेशी समानुपातिक प्रतिनिधित्व र सामाजिक न्याय अझै पनि जनताले अनुभूति गर्न नसकेको उनको तर्क छ ।

स्थानीय तहलाई अधिकारसम्म तुल्याउँदै सामाजिक न्यायसहितको समृद्धि हासिल गर्ने चुनौती कायम रहेको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

प्रतिक्रिया