
चुनाव खर्चबारे सुक्ष्म विवरण सङ्कलन भइरहेकाे छ : आयाेग
काठमाडाैं – निर्वाचन आयोगले पालिका चुनावमा उम्मेदवारले गरेको खर्चबारे सुक्ष्म अनुगमनकर्ताले विवरण सङ्कलन गरिरहेको जनाएको छ ।
चुनाव सकिएपछि उम्मेदवारले पेस गर्ने खर्च विवरणको वास्तविकता र विश्वसनीयता परीक्षण गर्न सहज हुने भएकाले आयोगले सुक्ष्म अनुगमनकर्ता खटाएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । उम्मेदवारले बुझाउने चुनावको खर्चको विवरण र अनुगमनकर्ताले खटाएको विवरण हेरेर परीक्षण गरिने उनले बताए ।
आयोगले चुनावमा भएको सम्पूर्ण खर्चको विवरण तोकिएको ढाँचामा राख्नुपर्ने, कुनै दल वा उम्मेदवारले चुनावमा गरेको जम्मा खर्च तोकिएको खर्चको रकमको हदभन्दा धेरै हुन नहुने, चुनावको खर्चको विवरण दल, उम्मेदवार वा तिनका प्रतिनिधिले चुनाव परिणाम घोषणा भएको मितिले ३० दिनभित्र ताेकिएकाे कार्यालयमा पेस गर्नुपर्ने भनेको छ ।
पालिका चुनावमा प्रचारप्रसारका क्रममा भएको आमसभा, जुलुस, हेलिकप्टरको प्रयोग जस्ता महत्त्वपूर्ण क्रियाकलापको सम्बन्धमा सुक्ष्म रूपमा अनुगमन गरी खर्च विवरणसमेत गोप्य रूपमा पठाउन मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतहरूलाई पनि निर्देशन दिइएको आयोगले जनाएको छ ।



कागजपत्र |
