गठबन्धनका उम्मेदवारमाथि खुकुरी प्रहार गर्ने एमाले कार्यकर्ता साउँद पक्राउ


बैतडी – बैतडीमा गठबन्धनबाट वडा सदस्यका उम्मेदवार माथि खुकुरी प्रहार गर्ने एमाले कार्यकर्ता पक्राउ परेका छन्।

पक्राउ पर्नेमा डिलाशैनीका २८ वर्षीय अजित साउँद रहेका बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिए।

जिल्लाको डिलाशैनी गाउँपालिका वडा नं ५ का वडा सदस्य पदका उम्मेदवार ५५ वर्षका हरिराम साउँदमाथि गएराति खुकुरी प्रहार भएको थियो।

खुकुरी प्रहारमा समूहको संलग्नता रहेको भन्दै पीडितले नाम दिएको आधारमा पक्राउ गरिएको हो। अजित एमालेका कार्यकर्ता रहेको खुलेको छ। घटनामा संलग्न अन्यको पनि खोजी कार्य भइरहेको छ।

माओवादी केन्द्रका तर्फबाट उम्मेदवार रहेका साउँद आफ्नै एक घरबाट अर्को घर गइरहेका बेला बीच बाटोमा स्थानीय अजित साउँद र उनको समूहले खुकुरी प्रहार गरेको बताइएको छ।

खुकुरी प्रहारबाट घाइते भएका साउँदको टाउको, हात, मुखमा गम्भीर चोट लागेको छ। उनको गोकुलेश्वर अस्पतालमा उपचार हुन नसकेपछि धनगढी रेफर गरिएको छ।

प्रतिक्रिया