उदयपुर सिमेन्ट उद्योगको महाप्रबन्धकमा न्यौपाने


काठमाडौं – सरकारले उदयपुर सिमेन्ट उद्योगको महाप्रबन्धकमा गोपी न्यौपानेलाई नियुक्त गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले न्यौपानेलाई महाप्रबन्धकमा नियुक्त गरेको हो । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको सिफारिसमा न्यौपानेलाई महाप्रबन्धकमा नियुक्त गरिएको हो ।

मन्त्रालयका सचिव चन्द्र कुमार घिमिरेको संयोजकत्वमा गठित सिफारिस समितिले न्यौपानेसहित कृष्णहरि बाँस्कोटा, रामेश्वर खनाल, र नारायण बिँडारीको नाम महाप्रबन्धका लागि सिफारिस गरेको थियो । मन्त्रिपरिषद्ले तीमध्येबाट न्यौपानेलाई नियुक्त गरेको हो ।

न्यौपानेले त्रिभुवन विश्वविद्यालयबाट व्यवस्थापन र पूर्वाञ्चल विश्वविद्यालयबाट कानुनमा स्नातकोत्तर गरेका छन् । हाल माछापुच्छ्रे बैंक सञ्चालक समिति सदस्य रहेका न्यौपानेले यसअघि चौधरी ग्रुपको महाप्रबन्धक, हिलसाइड कलेज अफ इन्जिनियरिङका प्रबन्धक निर्देशक भएर काम गरिसकेका छन् ।

प्रतिक्रिया