

‘देउवाले मलाई गरेको कारबाही अप्रत्यासित घटना होइन, यसपछिको परिणाम उहाँले कल्पना गरेभन्दा फरक हुन्छ’

मेरो राजनीतिक जीवनमा यो अप्रत्यासित घटना होइन । यस्ता घटना वर्तमान पार्टी सभापति तथा सम्माननीय प्रधानमन्त्रीले पटक–पटक घटाउँदै आउनुभएको छ । ममाथि यसरी डण्डा चलाउँदै आउनुभएको छ । उहाँले प्रजातान्त्रिक कांग्रेस गठन भएपछि जिल्ला अधिवेशन हुनुभन्दा एक महिनाअघि पनि मलाई दुई वर्षका लागि साधारण सदस्यसमेत नरहनेगरी निकाल्नुभएको थियो । उहाँ १३औं महाधिवेशनबाट पहिलोपटक कांग्रेसको सभापति हुँदा पनि ममाथि कारवाही गर्नकै लागि अनुशासन समितिलाई निर्देशन दिनुभएको थियो ।
रमेश रिजालको नेतृत्वमा अनुशासन समितिलाई कर्णबहादुर मल्ललाई पार्टीबाट निकाल्नका लागि बनाएको भनेपछि रिजालले राजीनामा दिनुभएको थियो । त्यसपछि उहाँले गठन गरेको अहिलेका सहमहामन्त्री भिष्म आङदम्बेको अनुशासन समितिलाई पनि उहाँले कर्ण मल्ललाई निकाल्न निर्देशन दिनुभएको थियो ।
उहाँले समितिका सदस्यहरुलाई नारायणस्थानमा अलग–अलगरुपमा बोलाएर कर्ण मल्ललाई पार्टीबाट निकाल्न भन्नुभएको थियो । तर, त्यो समितिलाई सर्वसम्मतिमा निर्णय गर्नुपर्ने बाध्यता थियो । समितिका सदस्य अहिलेका सहमहामन्त्री उमाकान्त चौधरीले म ‘नोट अफ डिसेन्ट’ लेख्छु भनेपछि मात्र ममाथि कारवाही गर्न उहाँले सक्नुभएको थिएन ।
अहिले पनि उहाँले त्यही विगतको प्रयासलाई निरन्तरता दिनुभएको छ । यसलाई मैले अप्रत्यासित घटनाका रुपमा लिएको छैन । ०४६ सालदेखि म कांग्रेसको राजनीतिमा छु । नेविसंघको राजनीति हुँदै म राजनीतिमा आएको हुँ । अहिलेका गृहमन्त्री बालकृष्ण खाँण नेतृत्वको तरुण दलको केन्द्रीय समितिमा काम गरेर आएको हुँ ।
०६२–६३को आन्दोलनमा सक्रिय रुपमा लागेको हुँ ।
उहाँले म विरुद्ध निरन्तर रुपमा किन लागि राख्नुभएको छ मैले कुनै विश्लेषणबाट पनि बुझ्न सकेको छैन । ममाथि उहाँ लागेको कुरा र ममाथि निरन्तर कारवाहीमा उत्रिएको कुराको कारण या त उहाँलाई थाहा होला या त भगवानलाई थाहा होला । म उहाँको गृह जिल्लाको पार्टी सभापति ।
गएको महाधिवेशन उहाँले बहालवाला जिल्ला सभापतिलाई बाहिर राखेर जिल्ला अधिवेशन गराइदिनुभयो । बहुमत कार्यसमितिका साथीहरुले २८ गते अधिवेशन गरौं, सदस्यता काटिएका साथीहरुलाई सदस्यता दिउँ, अधिवेशनलाई सर्वस्वीकार्य बनाएर जाऔं भनेका थियौं । उहाँले रातारात अधिवशेन गराउनुभयो ।
यो कुरा तपाईंहरुलाई थाहै छ । नेपाली कांग्रेसको इतिहासमा पार्टीको जिल्ला सभापतिलाई बाहिर राखेर जिल्ला अधिवेशन गराइएको यो नै पहिलो घटना होला । विधानले त्यो गर्न दिन्थ्यो कि दिँदैनथ्यो उहाँले जवाफसमेत दिनुपरेको छैन । त्यति हुँदा–हुँदै पनि हामी अधिवेशनमा बाहिर राखिएका कुरा, महाधिवेशनमा भाग लिन नदिएको कुरा बिर्सेर मिलेर जान तयार छौं भनेका हौं । वैशाख ३० गतेको स्थानीय तह निर्वाचनमा सबैलाई समेटेर कांग्रेसलाई जिताउने अभियानमा लागौं, निर्वाचनमा लाग्नका लागि अविभावकत्व दिनुस् भनेर हार गुहार ग¥यौं, निवेदन लेख्यौं ।
उहाँको मुख्य सचिव कृष्णप्रसाद पौडेललाई फोन गरेर पनि भन्यौ । अहँ ! उहाँ तयार हुनुभएन । १२ वर्ष सभापति हुँदा पछिल्लो ३ वर्षदेखि उहाँलाई ८ पटक लेखेर निवेदन दिँदा उहाँले हामीलाई भेट दिनुभएन । यो पिडामा छटपटाइरहेका, दशकौं शेरबहादुरको पथमा पछि लागेका कार्यकर्ताहरु जो महाधिवेशनबाट बाहिर पारिएका थिए, उनीहरुले १० गतेसम्म पनि उहाँलाई अनुनय विनय गरिरहेका थिए ।
ती साथीहरुलाई उहाँले सुन्नै नसक्ने शब्द प्रयोग गर्नुभएछ मलाई सुनाइए अनुसार । त्यसपछि ११ गते तयारी गरेर उनीहरुले नेपाली कांग्रेस बीपीको करुवा चिह्नमा उमेदवारी दर्ता गरेका छन् ।
अझ पनि उहाँसँग मिलाउन सक्ने सम्भावना बाँकी थियो । त्यो सम्भावना भन्दा बाहिर गएर उहाँले यस्ता अप्रिय निर्णय गर्दै हुनुुहन्छ भने त्यसको परिणामको जिम्मा उहाँले नै लिनुहोला । मैले मेरो जीवनमा यसलाई अप्रत्यासित घटना मानेको छैन ।

