

एमाले अध्यक्ष ओलीको अभिव्यक्ति खेदजनक : प्रवक्ता महत

काठमाडौं – नेपाली काँग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै निर्वाचन आयोगको ध्यानाकर्षण गराएका छन् ।
मंगलबार पार्टी केन्द्रीय कार्यालयमा काँग्रेस केन्द्रीय प्रचार–प्रसार सांस्कृतिक समन्वय उपसमितिले आयोजना गरेको ‘कांग्रेस नै चाहियो’ नामक गीत विमोचन समारोहमा बोल्दै प्रवक्ता महतले एमाले अध्यक्ष ओलीले निर्वाचन आचारसंहिताको धज्जी उडाएको आरोप लगाए ।
ओलीले काँग्रेसको घोषणापत्रलाई लिएर आपत्तिजनक शब्दहरू प्रयोग गरेको भन्दै उनले खेद् प्रकट गरे । ओलीले आपत्तिजनक शब्दहरू प्रयोग गर्दापनि निर्वाचन आयोगले ध्यान नदिएको भन्दै प्रवक्ता महतले निर्वाचन आयोगको ध्यानाकर्षण गराए ।
एमाले अध्यक्ष ओलीले मंगलबार नै पार्टीको एक कार्यक्रममा काँग्रेसको घोषणापत्रलाई लिएर विभिन्न टिप्पणी गरेका थिए । प्रवक्ता महतले ओलीको सोही टिप्पणीप्रति असन्तुष्टि जनाए । उनले निर्वाचनमा काँग्रेसले गरेका राम्रा कामहरुको व्यापक प्रचार–प्रसार गर्न पार्टीका नेता, कार्यकर्ताहरूलाई निर्देशन समेत दिए ।

