अस्ट्रेलियाली टेस्ट क्रिकेट टोलीका कप्तान टिम पेनले दिए राजीनामा


काठमाडौं- विवादित अस्ट्रेलियाली टेस्ट क्रिकेट टोलीका कप्तान टिम पेनले पदबाट राजीनामा दिएका छन् । सन् २०१७ मा महिला सहकर्मीलाई आपत्तिजनक ‘म्यासेज’ पठाएको विषय सार्वजनिक भएपछि उनी पछिल्लो समय विवादमा तानिएका थिए । बीबीसीका अनुसार यो घटनामाथि क्रिकेट अस्ट्रेलियाले छानविन गरिरहेको छ ।

उनले इङ्ग्ल्याण्डविरुद्ध एसेस सिरिज सुरु हुनुअघि राजीनामा दिएका हुन् । ‘यो कठिन निर्णय हो तर मेरो लागि, परिवारको लागि र क्रिकेटको लागि सही समय हो। यो विषयमा मैले मेरी श्रीमती र परिवारसँग माफी मागिसकेको छु र उनीहरुप्रति कृतज्ञ छु,’ उनले भनेका छन् ।

सन् २०१८ मा स्टिभ स्मिथ बल टेम्परिङ काण्डका कारण एक वर्षको प्रतिबन्धमा परेपछि पेनले अस्ट्रेलिया टेस्ट कप्तानीको जिम्मेवारी पाएका थिए। स्मिथ प्रतिबन्धमा परेपछि सीमित ओभरको कप्तानी आरोन फिन्चले गरेका थिए । पेन अस्ट्रेलिया टेस्ट टोलीको ४६औं कप्तान हुन्। क्रिकेट अस्ट्रेलियाका चियरमेन रिचर्ड फ्रुडेनस्टिनले पेनको राजीनामा स्वीकार गर्दै केही दिनमा नै नयाँ कप्तान छनोटका लागि प्रक्रिया सुरु गर्ने बताएका छन् ।

अस्ट्रेलियाले तीव्र गतिका बलर तथा उपकप्तान प्याट कमिन्सलाई कप्तानको जिम्मेवारी दिने सम्भावना छ। स्मिथ पनि कप्तानको रुपमा फर्किने सम्भावना छ। दीर्घकालीन कप्तानका रुपमा शीर्षक्रमका ब्याटर मार्नस लाबुसेन बन्न सक्छन् । पेनले २३ खेलमा टेस्ट कप्तानी गर्दा ११ खेलमा जित र आठ खेलमा हार बेहोरेका छन् ।

चार खेल बराबरीमा सकिएको छ। गत जनवरीमा भारतसँग चार टेस्ट सिरिज घरेलु मैदानमा २-१ ले गुमाएपछि पनि पेनको आलोचना भएको थियो । अस्ट्रेलिया र इङ्ग्ल्यान्डबीचको पहिलो टेस्ट खेल डिसेम्बर ८ देखि १२ सम्म दि गाब्बा ब्रिसबेनमा सुरु हुनेछ ।

प्रतिक्रिया