तीन महानगरमा देउवा, सिंह र कोइरालालाई भागबण्डाः पौडेल र सिटौला हिस्स


काठमाडौं । स्थानीय तहको निर्वाचनमा सत्तारुढ दलबीच गठबन्धन हुँदा नेपाली कांग्रेसले पाएको तीन महानगरपालिकामा प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाले आफूसहित नेता प्रकाशमान सिंह र डा.शेखर कोइरालासँग भागबण्डा गरेका छन् ।

देउवाले तीन महानगरमा सिंह र कोइरालासँग भागबण्डा मिलाउँदा नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला भने हिस्स बनेका छन् ।

कांग्रेसले प्रमुख पाएको तीन महानगरमध्ये देउवाले आफूनिकट चिरिबाबु महर्जनलाई ललितपुरमा दोहोर्याउने मौका दिलाए । नेता प्रकाशमान सिंहको भागमा परेको काठमाडौमा भने उनले श्रीमती सृजना सिंहलाई प्रमुखको उम्मेदवार बनाए ।

नेता शेखर कोइरालाको भागमा भने बिराटनगर महानगरपालिका परेको छ । महानगरको मेयरको उम्मेदवारमा प्रदेश कार्यसमितिको सिफारिसमा नै नपरेका नागेस कोइरालालाई कांग्रेसको तर्फबाट प्रमुखको उम्मेदवार बनाउने निर्णय भएको थियो ।

उपमेयरतर्फ पोखरामा देउवानिकट सुरेन्द्रमान बिजुक्छेको नाम परिवर्तन गरी कोपिला रानाभाटले टिकट पाइन । यता भरतपुरमा कोइरालानिकट चित्रसेन अधिकारीले टिकट पाएका छन् । वीरगञ्जमा संस्थापन पक्षकै नेता इम्तियाज आलम उपमेयरको उम्मेदवार बनेका छन् ।

सिंह र कोइरालाले १४ औं महाधिवेशनमा देउवासँग प्रतिस्पर्धा गरेका थिए । दोस्रो चरणमा सिंहले देउवालाई समर्थन गरेका थिए । विराटनगरमा आफूनिकट केन्द्रीय सदस्य अमृत अर्याललाई मेयर बनाउन सभापति देउवाले अन्तिमसम्म प्रयत्न गरेका थिए । तर कोइरालालाई खुसी बनाउन देउवा आफ्नो अडानबाट पछि हटेका हुन् ।

संसदीय समितिमा परेर पनि वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता कृष्णप्रसाद सिटौलालाई भने कुनै भाग दिइएन ।
ललितपुर महानगरमा देउवानिकट चिरिबाबु, सिटौलानिकट चन्द्र महर्जन र संस्थापनइत्तरका हरिकृष्ण महर्जन सिफारिसमा परेका थिए ।

त्यस्तै, काठमाडौं महानगर प्रमुखमा सिंहसहित महानगर सभापति निलकाजी शाक्य, निवर्तमान उपप्रमुख हरिप्रभा खड्गीको सिफारिस भएको थियो । बिराटनगर महानगरको प्रमुखमा भने देउवानिकट केन्द्रीय सदस्य अमृत अर्याल, सिटौला निकटका केन्द्रीय सदस्य भिम पराजुली र महिला संघकी निवर्तमान सभापति डा.डिला संग्रौला पन्तको नाम सिफारिस भएको थियो ।

अर्याल, पराजुली र संग्रौलाको नाम महानगर प्रमुखको उम्मेदवारमा प्रदेश कार्यसमितिले सिफारिस गरेपछि पार्टी संसदीय समितिको बैठकको निर्णय अनुसार प्रमुख पदका उम्मेदवार छनोट गर्ने अन्तिम अधिकार देउवालाई दिएपछि उनले शेखर कोइराला निकटका नागेश कोइरालालाई प्रमुखको टिकट दिइएका हुन् ।

प्रतिक्रिया