कम्युनिष्ट आदर्शलाई जगेर्ना गर्न नयाँ पार्टी खोलेका हौंः माधव नेपाल


काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले व्यक्तिवादी चरित्रले भासिएको एमालेले माक्र्सवाद र लेनिनवादका आदर्श त्यागेकाले आफूहरूले एमालेबाट विद्रोह गरी नयाँ दल स्थापना गरेको बताएका छन् ।

नेपाल कम्युनिष्ट पार्टीको ७३ औँ स्थापना दिवसका अवसरमा पार्टीद्वारा आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन् । उनले पुष्पलालले स्थापना गरेको पार्टीमा गलत प्रवृत्ति नेतृत्वमा पुग्दा पुष्पलालले विद्रोह गरी पुनःकम्युनिष्ट आन्दोलनलाई रक्षा गर्न नयाँ पार्टी स्थापना गरेको स्मरण गर्दै भने, ‘अहिले आफूले पनि कम्युनिष्ट आदर्शलाई जगेर्ना गर्न नेकपा (एकीकृत समाजवादी) पार्टी खोलेको हो ।’

पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष नेपालले मुलुकमा समृद्धि कायम गरी जनताको सुखको आकाँक्षा पूरा गर्न समाजवादी अर्थ व्यवस्थाको खाँचो रहेको बताए ।

अध्यक्ष नेपालले पार्टीले स्थापनाको छोटो कार्यकालमा अहिले देशभर जिल्ला कार्यसमिति निर्माण गरिसकेको उल्लेख गर्दै स्थानीय तहका साथै अधिकांश वडामा सङ्गठन विस्तार भएको जानकारी दिए।

सो अवसरमा अध्यक्ष नेपालले राष्ट्रिय खेलकुद परिषद्का पूर्वउपाध्यक्ष तथा खेलाडी पिताम्बर तिम्सिनाको नेतृत्वमा १०० भन्दा धेरै कार्यकर्ता उक्त पार्टीमा प्रवेश गराए। पार्टीका उपमहासचिव डा विजय पौडेलले स्थानीय तह निर्वाचन लक्षित पार्टीको घोषणापत्रबारे जानकारी गराए।

प्रतिक्रिया