

एमाले काठमाडौं महानगरको प्रतिबद्धता पत्र : विशेष भत्ता १२ हजारबाट १८ हजार पुर्याउने वाचा (पूर्णपाठ)

काठमाडौं : नेकपा एमाले काठमाडौं महानगर कमिटीले स्थानीय तह निर्वाचन लक्षित प्रतिबद्धता पत्र सार्वजनिक गरेको छ। प्रतिबद्धतापत्रमा बहालवाला महानगर प्रमुख विद्यासुन्दर शाक्यको कार्यकालमा भएका गतिविधिहरुको चर्चा गरिएको छ। यस्तै, स्थानीय तह निर्वाचन लक्षित कयौं प्रतिबद्धताहरु सार्वजनिक गरिएको छ।
महानगर कमिटीले सार्वजनिक गरेको प्रतिबद्धता पत्रमा संघ र प्रदेशसँगको सहकार्यमा विद्युतीय बस, मोनो रेल, मेट्रो रेलको रणनीति तर्जुमा गर्ने, काठमाडौंको पर्यटकीय र व्यवसायीकस्थललाई पैदलमैत्री बनाउने, भर्टिकल मेकानिकल पार्किङ प्रणालीको व्यवस्था गर्ने, रानीपोखरी देखि दशरथ रंगशालासम्मको गुरुयोजना कार्यान्वयन गर्ने उल्लेख छ।
यस्तै, आगामी २५ वर्षको जनसंख्यालाई मध्यनजर गर्द खानेपानी आयोजनाहरुको काम कार्यान्वयन गर्ने, रिचार्ज काठमाडौं अभियान संचालन गर्ने, बिजनेस क्लिनिक स्थापना गर्ने, फोहोरबाट उर्जा उत्पादन गर्ने, ६० वटा आधुनिक सार्वजनिक शौचालय निर्माण गर्ने प्रतिबद्धता गरिएको छ।
एमालेले ५० शैयाको महानगर ज्येष्ठ नागरिक अस्पताल संचालन गर्ने र महानगरपालिकाले ७५ वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई दिँदै आएको विशेष भत्ता वार्षिक १२ हजारबाट १८ हजार पुर्याउने समेत प्रतिबद्धता पत्रमा उल्लेख छ।

