जनमत पार्टीले आज टिकट बाँड्ने, निर्वाचन खर्च उम्मेदवार आफैँले बेहोर्नुपर्ने


काठमाडौं – सिके राउत नेतृत्वको जनमत पार्टीले स्थानीय तह चुनावका लागि आज (सोमबार) टिकट बाँड्ने भएको छ ।

पालिका प्रमुख र उपप्रमुखको टिकट वितरण आज गर्न लागिएको हो । पार्टीले तय गरेका उम्मेदवारहरुलाई केन्द्रीय सचिवालय जनकपुरधामबाट मनोनयन पत्र वितरण गर्ने जनमत पार्टीले निर्णय गरेको हो ।

केही स्थानीय तहमा भने पार्टीले उम्मेदवार तय गरिसकेको छैन । पार्टीका नेता बिपी साहका अनुसार वडाध्यक्षहरूको मनोनयन पत्र वितरण वैशाख ७ र ८ गते हुनेछ ।

मधेश प्रदेशका उम्मेदवारलाई केन्द्रीय सचिवालय जनकपुरधाम, प्रदेश नम्बर १ का उम्मेदवारलाई विराटनगर र लुम्बिनी प्रदेशका उम्मेदवारलाई भैरहवाबाट टिकट वितरण गर्ने तयारी छ । नेता साहका अनुसार उम्मेदवारहरूले मनोनयन पत्र लिनु अगावै पार्टीको अनुशासनमा बस्ने र भ्रष्टाचारमा संलग्न नहुने प्रतिबद्धता पत्रमा हस्ताक्षर गर्नुपर्नेछ ।

उम्मेदवारहरूले आफ्नो निर्वाचन खर्च आफैँले बेहोर्नु पर्ने पार्टीले निर्णय गरेको छ। वैशाख ३० मा हुने स्थानीय चुनावमा जनमत पार्टीले सबै ठाउँमा उम्मेदवारी दिने जनाएको छ ।

प्रतिक्रिया