

बालुवाटारमा सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठक जारी

काठमाडौं – बालुवाटारमा सत्ता गठबन्धनमा दलका शीर्ष नेताको बैठक सुरु भएको छ ।
स्थानीय तह निर्वाचनमा पालिकाहरूको भागबण्डालगायतका विषयमा छलफल गर्न शीर्ष नेताहरुसहित संयन्त्रको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको हो । विशेष गरी महानगरपालिका र उपमहानगरपालिकाको भागबन्डामा सकस देखिएको छ ।
आइतबार बसेको बैठकमा दलका नेताहररूले आ(आफ्नो दाबी प्रस्तुत गरेका थिए । आइतबारको बैठकमा नेकपा (माओवादी केन्द्र)ले चितवनको भरतपुर, एकीकृत समाजवादीले पोखरा र जनता समाजवादी पार्टीले वीरगञ्ज महानगरपालिका लिने प्रस्ताव गरेका थिए ।
कांग्रेसले भने दाबी गरेको थिएन । आज महानगर र उपमहानगरपालिकाहरूको भागबण्डामा छलफल गरी निष्कर्षमा पुग्ने प्रयास हुने नेताहरूले बताएका छन् ।
यही वैशाख ३० गते स्थानीय तह निर्वाचन हुँदै छ । निर्वाचन आयोगले वैशाख ११ र १२ गते मनोनयनपत्र दर्ताको समय निर्धारण गरेको छ ।

