अध्यक्षले श्रीमतीको नाम सिफारिस गरेपछि दैलेख एमालेमा भाँडभैलो


काठमाडौँ- नेकपा एमालेलाई दैलेखको ठाटीकाँध गाउँपालिकामा उम्मेदवार टुंगो लगाउन नै धौधौ परेको छ। एमाले कर्णाली अध्यक्ष विनोदकुमार शाहले आफ्नी श्रीमती लक्ष्मीदेवी शाहलाई अध्यक्ष उम्मेदवार सिफारिस गर्नुपर्ने अडान राखे पछि गाउँ कमिटीले निर्णय लिन सकेको छैन।

‘उम्मेदवार छनौट गर्न शाहले २९ चैतदेखि नै ठाटीकाँधमा डेरा जमाउनुभएको छ। उहाँले आफ्नी श्रीमतीलाई अध्यक्षमा सिफारिस गराउनकै लागि सिफारिस चुनाव पनि गर्न दिनु भएको छैन,’ पालिका कमिटीका एक सदस्यले भने, ‘उहाँ पूर्वराज्यमन्त्री पनि हो। उहाँ प्रदेश कमिटीको अध्यक्ष पनि हो। शक्ति देखाउन खोजिरहनुभएको छ।’

उम्मेदवारका लागि चुनाव भएमा लक्ष्मी पराजित हुने देखेपछि शाहले चुनावबिना नै प्रदेश कमिटीमा सिफारिस गर्न दबाब दिइरहेका हुन्। ठाटीकाँधमा एमालेबाट अध्यक्षका लागि धीरबहादुर शाही, योगेन्द्रविक्रमराज थापा, अम्मरबहादुर शाही, कुमारविक्रम शाही, लक्ष्मीदेवी शाह, बखत भण्डारी, मनोज गौतम, अस्मिता शाही, शक्तिराम बुढा र बमबहादुर शाहीले दाबी गरेका छन्।

शाहले भने आकांक्षीको नाम प्रदेश कमिटीमा सिफारिस गर्न गाउँ कमिटीलाई भनिए पनि नमानेको बताए। ‘उम्मेदवारका विषयमा मलाई श्रीमतीसँग जोडनु भनेको विचारको दिवालियापनबाहेक केही होइन,’ उनले भने। उपाध्यक्षमा जैसरा विक, निर्मला शाही, कल्पना कठायत, कर्ण शाही, महेन्द्रबहादुर शाहीले दाबी  गरेका छन्।

प्रतिक्रिया