विद्यार्थीमाथि यौन दुर्व्यवहार गर्ने तीन शिक्षक पक्राउ


हेटौंडा – आफ्नै विद्यार्थीहरुमाथि यौन दुर्व्यहारको आरोप लागेका तीन जना शिक्षक पक्राउ परेका छन्। वाग्मती गाउँपालिका–८, शान्तिपुरस्थित जनता माविका दुई जना शिक्षकलाई मकवानपुर प्रहरीले हिजो साँझ नियन्त्रणमा लिएको हो ।

सोही विद्यालयका एक शिक्षक भने यसअघि चैत २५ गते नै आफै प्रहरी नियन्त्रणमा आएका थिए। शुक्रबार साँझ प्रहरीले आरोपित शिक्षकहरु लोकबहादुर विक र रुद्रबहादुर विकलाई नियन्त्रणमा लिएको हो । त्यसअघि शिक्षक हेमबहादुर विक भने आफै प्रहरी समक्ष पुगेका थिए ।

जिल्ला प्रहरी कार्यलय मकवानपुरका प्रवक्ता टेकबहादुर कार्कीका अनुसार पक्राउ परेका तीनै जना शिक्षकहरुमाथि आवश्यक अनुसन्धान भइरहेको छ।

तीन जना शिक्षकहरुले लामो समयदेखि छात्रा विद्यार्थीहरु माथि यौन दुर्व्यवहार गरेको र विद्यालयमा निवेदन दिँदासमेत आवश्यक कारबाही नभएको भन्दै चैत २२ गते विद्यार्थीहरुले विद्यालय तोडफोड गरेका थिए।

विद्यार्थीहरुले दिएको निवेदनमाथि छलफल गर्न चैत २२ गते मंगलबार विद्यालय परिसरमा विद्यालय, अभिभावक, विद्यालय व्यवस्थापन, राजनीतिक दलका प्रतिनिधिहरु बीच बैठक बसेको थियो। बैठकमा भएको छलफलमा चित्त नबुझेपछि विद्यार्थीहरुले विद्यालय तोडफोड गरेका थिए।

चैत २४ गते राति तीन जना शिक्षकविरुद्ध विद्यालयमा अध्यनरत विद्यार्थीका अभिभावकहरुले जिल्ला प्रहरी कार्यलयमा यौन दुर्व्यवहारको किटानी जाहेरी दिएका दिए।

छात्रा विद्यार्थीहरुले शिक्षकहरुले आफूहरुलाई गलत नियतले छुने गरेको आरोप लगाएका छन् ।

प्रतिक्रिया